कृषक संग कृषि प्राविधिक प्रभावकारी
स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिकाले सञ्चालन गरेको कृषक सँग कृषि प्राविधिक कार्यक्रमबाट पाँच हजार बढी कृषक परिवार लाभान्वित भएका छन् ।
नगरपालिकाको ग्रामीण क्षेत्रका किसानहरूलाई लक्षित गरेर गरिएको कार्यक्रमबाट पाँच हजार एक सय १७ कृषक परिवार लाभान्वित भएका हुन् ।
गल्याङ नगरपालिकाको वडा नम्बर १ देखि ११ सम्मका वडाहरूमा सञ्चालन गरिएको कार्यक्रममा सहभागी भएर कृषकहरूले लाभ लिएका छन् ।
एउटा वडाको तीन देखि सात ठाउँसम्म गरी ६८ ठाउँमा पालिकाले कार्यक्रम सम्पन्न भरेको गल्याङ नगरपालिकाले जनाएको छ ।
गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले गएको वर्ष जस्तै यस वर्ष पनि कृषकसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले गएको वर्षको कार्यक्रममा तल्लो वर्गमा रहेका कृषकहरूसम्म फाइदा पुगेको पाइएपछि यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको स्पष्ट पार्नुभयो ।
गाउँघरमा १-२ ओटा भैँसी बाख्रा पालेर १-२ ओटा खेतबारीमा कृषि गरेर बसिरहेका साना किसानहरू लाई राज्य छ, स्थानीय सरकार छ, गुनासा समस्या राख्ने ठाउँ भन्ने जानकारी गराउन र गल्याङ नगरपालिकाले सञ्चालन गरिरहेका कृषि र पशु सम्बन्धित कार्यक्रमहरूको जानकारी समेत गराइएको छ । यो कार्यक्रमबाट गुजारा चलाइरहेका साना किसानहरूका लागि निकै लाभदायी हुने विश्वास पालिकाले लिइएको छ ।
गल्याङ नगरपालिका कृषि शाखा प्रमुख भीम क्षेत्रीले किसानका टोलसम्म पुग्दा साना किसानका समस्याहरू प्रत्यक्ष हेर्न र समाधान गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले गुजारा चलाइरहेका किसानहरूका लागि कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो ।
कार्यक्रमहरूमा कृषकहरुसग अन्तरक्रिया, छलफल गरी किसानहरूका समस्या, गुनासाहरूको समाधान पनि गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्