आज कुकुर तिहार: सुरक्षा निकायले गरे कुकुर पूजा

काठमाडौँ – आज (यमपञ्चक) तिहारको दोस्रो दिन अर्थात् कुकुर तिहार । सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास रहेको छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ ।

त्यसै गरी विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्व सूचना समेत दिने गरेको छ । कुकुर इमानदार र बफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्व कालदेखि कुकुरलाई वर्षमा एक पटक इमानदार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एक पटक यमपञ्चकको दोस्रो दिन पारेर पुज्ने गर्दछन् । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ । आज नेपाल प्रहरी, नेपाली सेना र नेपाल सशस्त्र प्रहरी बलले आफ्ना तालिमप्राप्त कुकुरहरूलाई पूजा गरी मनाएका छन् । साथै नेपालीहरूले आफ्नो आफ्नो घरमा कुकुरको पूजा गरी  टीका र माला लगाइ दिएर खानेकुरा दिई पूजा गरेका छन् । कुकुर पूजा गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल प्रहरी प्रहरी नायव महानिरीक्षक डा. देउती गुरुङले विश्वमा उपलब्ध हुने धेरै कुकुरहरू ल्याएर तालिम दिने गरेको बताउनु भयो । उहाँले नयाँ नयाँ प्रजातिहरू ल्याएर कुकुरबाट अनुसन्धानलाई पहिलाको तुलनामा अहिले झनै प्रभावकारी बनाइएको बताउनु भयो । अनुसन्धानका लागि पहिला जर्मन सेफर्ड र ल्याब्रेडर मात्रै रहेकोमा अहिले बेल्जियम सेफर्ड पनि ल्याएर अनुसन्धान प्रभावकारी बनाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्वमा उपलब्ध हुने सबै कुकुरहरू हामीले ल्याएर तालिम दिने गरेका छौँ । विदेशबाट तालिमप्राप्त र नेपालमा पनि तालिम दिनुपर्छ । नयाँ नयाँ प्रजातिहरू ल्याएर कुकुरबाट अनुसन्धानलाई पहिलाको तुलनामा अहिले झन् माथि छ । जर्मन सेफर्ड र ल्याब्रेडर मात्रै थिए भने अहिले नयाँ प्रजातिका कुकुरहरू ल्याएका छौँ । अहिले बेल्जियम सेफर्ड भन्ने छ । विश्वले अनुसन्धानमा प्रयोग गर्ने कुकुर बेल्जियन मलिनवाई हो ।’

उहाँले कुकुरबाट हुने अनुसन्धानलाई पहिलाको तुलनामा प्रभावकारी बनाइएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.