लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग १६०२ मेगावाट

पिक समयमा २५३ मेगावाट भारतर्फ निर्यात

काठमाडौँ –  यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ ।
लक्ष्मीपूजाको दिन आइतबार साँझ ६.२५ बजे पिक डिमान्ड १६०२ मेगावाट रेकर्ड गरिएको हो ।

गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमान्ड १४३८ मेगावाट थियो । गत वर्ष कोभन्दा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमान्ड १६४ मेगावाट बढी हो । तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहक बाहेकको हो । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रका विद्युत् गृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।

देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा ५१७ मेगावाट मात्र निर्यात गरिएको थियो । यस वर्ष बाढी पहिरोले क्षति पुग्दा ४५६ मेगावाटको माथिल्लो तामाकोसी, काबेली कोरिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत आयोजनाको विद्युत् उत्पादन बन्द छ । यसले गर्दा यस वर्षको विद्युत् निर्यात प्रभावित भएको हो ।

लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १८५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमान्ड १९५५ मेगावाट थियो । यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौँ उपत्यकाको पिक डिमान्ड ३९० मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३६६ मेगावाट थियो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ, सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य रतन ऐन, कार्यकारी निर्देशक कुलमान घिसिङ, ग्राहक तथा वितरण सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उप कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलगायतको टोली लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन बिहीबार स्यूचाटार स्थित भार प्रेषण केन्द्रको नियन्त्रण कक्षमा खटिनु भएको थियो ।

कार्यकारी निर्देशक घिसिङले विगतमा लोडसेडिङको अवस्थामा लक्ष्मीपूजाको दिनको विद्युत् मागलाई पिक डिमान्ड मान्ने गरिएकोमा अहिले त्यस्तो अवस्था नरहेको बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ‘आठ वर्षअघि लक्ष्मीपूजाको दिनको विद्युत् माग व्यवस्थापनका लागि आयात हुने गरेकोमा केही वर्षदेखि आन्तरिक उत्पादनलेनै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको हो, बाढी पहिरोले जलविद्युत आयोजना र प्रसारण लाइनमा क्षति नपुर्‍याएको भए यो वर्ष लक्ष्मीपूजाको दिन झन्डै एक हजार मेगावाट विद्युत् निर्यात गर्ने अवस्थामा हुन्थ्यौँ ।


उहाँले लोडसेडिङ अन्त्य भई निरन्तर विद्युत् आपूर्ति हुन थालेपछि र विद्युतीकरण व्यापक रूपमा गरिएपछि हरेक वर्ष देशभित्रको विद्युत् माग बढिरहेको बताउनुभयो ।

प्राधिकरणले तत्कालीन समयमा भइरहेको लोडसेडिङलाई २०७३ सालको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रूपमा अन्त्यको सुरुवात गरेको थियो । परीक्षण सफल हुँदै गएपछि २०७५ साल वैशाखबाट देशलाई पूर्ण रूपमा लोडसेडिङमुक्त घोषणा गरिएको थियो । अहिले मुलुक लोडसेडिङबाट मुक्त मात्र छैन देशभित्र खपत गरी अतिरिक्त भएको वर्षा यामको विद्युत् निर्यात भइरहेको छ । विद्युत्को खुद आयातकर्ताबाट गत आर्थिक वर्षबाट नेपाल खुद निर्यातकर्ता बनेको छ ।

लक्ष्मीपूजाको विद्युत् माग व्यवस्थापनका लागि जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०६ मेगावाट विद्युत् उत्पादन क्षमता भएता पनि प्राधिकरणले पिक समयमा ६२ मेगावाटमा मात्र चलाएको थियो । प्राधिकरणका स्वामित्वका अन्य विद्युत् गृहहरुबाट ६२ मेगावाट, चिलिमेलगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत् गृहहरुबाट ९० मेगावाट, निजी क्षेत्रका विद्युत् गृहहरुबाट १३०४ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो ।

चिलिमेलगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत् गृहहरुबाट ९० मेगावाट, निजी क्षेत्रका विद्युत् गृहहरुबाट १३०४ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो ।

विवरण लक्ष्मीपूजा १५ कात्तिक २०८१ २६ कात्तिक २०८०
नेपाल विद्युत् प्राधिकरण (जलाशययुक्त बाहेक) ३९९मेगावाट ४२६ मेगावाट
विद्युत प्राधिकरणका सहायक कम्पनी  ८९ मेगावाट ५२२ मेगावाट
निजी क्षेत्र  १३०४ मेगावाट  ९९७ मेगावाट
विद्युत प्राधिकरण (जलाशययुक्त) ६२ मेगावाट १६ मेगावाट
निर्यात २५३ मेगावाट ५१७ मेगावाट
राष्ट्रिय प्रणालीको पिक डिमाण्ड (निर्यातबाहेक) १६०२ मेगावाट  १४३८ मेगावाट
प्रणालीको पिक डिमाण्ड (निर्यातसहित) १८५५ मेगावाट १९५५ मेगावाट

 

काठमाडौं उपत्यकाको विद्युत् माग ३९० मेगावाट ३६६ मेगावाट

स्रोत:  नेपाल विद्युत् प्राधिकरण

विगत वर्षमा झैँ यस वर्ष लक्ष्मीपूजाका दिन मूलकभर विना अवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ ।

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत् गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.