बाढी,पहिरोमा ज्यान गुमाएकाका परिवारलाई काभ्रे सोसाइटी यु.केको आर्थिक सहयोग
काभ्रे – असोजको दोस्रो सातामा आएको बाढी/पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई काभ्रे सोसाइटी यु.केले आर्थिक सहयोग गरेको छ ।
बाढी/पहिरोमा परी ज्यान गुमाएका काभ्रेका १३ वटा पालिकाका ७९ जनाका परिवारलाई यु.के.मा बसोबास गर्ने नेपालीहरूको संस्थाबाट सङ्कलित १० लाख भन्दा बढी रकम जिल्लामा पीडित भएकाहरूका लागि उपलब्ध गराइएको हो ।
काभ्रेमा बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले युकेमा बसोबास गर्ने नेपालीहरूबाट केही रकम सङ्कलन गरिएको समाजसेवी एवं काभ्रे सोसाइटी युकेका कोषाध्यक्ष जीवन थापाले बताउनुभयो ।
उहाँका अनुसार, त्यहाँ“ सङ्कलन गरिएको रकम बाढी पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई मृतकका प्रति व्यक्ति १२ हजार ७ सयका दरले ७९ जनालाई प्रदान गर्ने काम भइरहेको छ ।
जिल्लाका स्थानीय तहहरूको समन्वयमा विपद्मा ज्यान गुमाएकाका परिवारलाई रकम प्रदान गर्ने काम भइरहेको उनले जानकारी दिनुभयो ।
आफ्नो गृह जिल्ला काभ्रेमा बाढी/पहिरोले पुर्याएको क्षतिप्रति काभ्रे सोसाइटी यु.के. का अध्यक्ष नारायण फूयाल, सल्लाहकार तस्बिर लामाको संयोजनमा युकेमा बसोबास गर्ने नेपालीहरूबाट आर्थिक सङ्कलन गरिएको उहाँले बताउनुभयो ।
समाजका समाजसेवी र शुभचिन्तकहरूबाट स्वतःस्फूर्त रूपमा उठेको रकम बाढी पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई उपलब्ध गराइएको हो ।
उक्त कार्यका लागि उद्योग वाणिज्य सङ्घ पनौतीका अध्यक्ष भोला थापा र महासचिव महेश पौडेलले समन्वय तथा सहजीकरण गर्नु भएको थियो।
प्रतिक्रिया राख्नुहोस्