भक्तपुर नगरका नेवार समुदायले आज म्ह: पूजा, भोलि भाइटिका मनाउँदै

भक्तपुर – नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारले घर आँगन रमाइलो मात्रै होइन, सिँगार पटारले रङ्गिन बनेको छ । यस वर्षको भाइटिका १८ गते परे पनि भक्तपुरका नेवार समुदायले १७ गते नै मनाउने भएका छन् । उनीहरूले आज म्ह: पूजा र भोलि कात्तिक १७ गते भाइटिका मनाउने तयारी गरेका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक १८ गते भाइटिका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाका नेवार समुदायले भने आजै म्ह: पूजा र भोलि भाइटिका मनाउने भएका हुन् ।

भक्तपुर नगरपालिकाले आज साँझ ५ः१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्ह पूजा गर्न र कात्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटिका अर्थात् किजा पूजा मनाउन नगरवासीलाई निर्देशन दिएको हो । यही कारण भक्तपुर नगरपालिकाका नेवार समुदायले सोही तिथिअनुसार  म्ह: पूजा र भाइटिका मनाउने तयारी गरेका हुन् ।

कात्तिक १७ गते शनिबार गाई पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हली तिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ गरी ६ वटा पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तिथि घटबढका कारण यस वर्ष पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष ६ दिनसम्म लम्बिएको समितिले जनाएको छ ।

कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते सुरु भएको थियो । कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइले विधिपूर्वक टीका लगाएपछि तिहार सकिने समितिले जनाएको छ ।

भाइटिकाको साइत भने बिहान ११ः३७ मिनेटमा रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.