हरियै जुनार बजारमा
रामेछाप – रामेछापका जुनार कृषकहरूले यस वर्ष हरियै जुनार बजारमा ल्याएका छन् । हेर्दा मौसम जस्तै लाग्ने जुनारका हरिया दाना बजारमा आएका हुन् । खानाको लागि अयोग्य त्यस्ता जुनारहरू व्यापारीहरूले दसैँ र तिहारका लागि बजारमा निकालेका हुन् ।
हरियो जुनार अमिलो हुने भएकाले यसले बजारमा नकारात्मक सन्देश दिने जुनार कृषि सहकारी संघका अध्यक्ष पदमबहादुर तामाङ बताउनु हुन्छ । किसानहरूलाई हरियोमा जुनार बिक्री नगर्न अनुरोध गर्दै आएको भए पनि तिहार खर्च जुटाउनका लागि हरियोमा नै जुनार बजारमा ल्याउने गरेको उहाँको भनाइ छ । हरियो जुनार अमिलो हुने भएकाले यसको सन्देश नै नराम्रो जानेमा अगुवा कृषकहरू चिन्तित छन् ।
जिल्लाका धेरै किसानहरूले हरियो जुनार बजारमा नल्याएको भए पनि केही किसानहरूले हरियै जुनार बजारमा ल्याइदिँदा समस्या भएको सुकाजोरका जुनार कृषक हरिबहादुर श्रेष्ठ बताउँछन् । साना कृषकहरूले हरियोमा नै जुनार बजारमा ल्याइदिँदा ठुला कृषकहरूलाई समेत समस्या परेको ओख्रेनीका किसान यमबहादुर तामाङ बताउनुहुन्छ ।
हरियो जुनार खान उपयुक्त मानिँदैन । दानामा गुलियो पस्नका लागि मात्र पनि केही पहेँलो हुनुपर्छ । रामेछापको जुनार मङ्सिर महिनाको मध्यबाट खानका लागि उपयुक्त मानिन्छ । अहिले टिपेको जुनार काठमाडौँसम्म लाने र व्यापारीहरूले त्यही जुनारलाई मौसम भन्दै तिहारमा बिक्री गर्ने गरेको कृषकहरू बताउँछन् । रामेछापको २५ भन्दा बढी गाउँमा जुनारको व्यबसायीक खेती हुँदै आएको छ ।
आठ सय देखि चौध सय मिटर सम्मको उचाइमा हुने जुनार खेती रामेछाप जिल्लाको सालु, ओख्रेनी, भलुवाजोर, फुलासी, रामेछाप लगायतका गाउँहरूमा ३० वर्ष अगाडिबाट व्यबसायीक खेती सुरु भएको हो । रामेछाप जिल्लाको कुल ८ सय ७१ हेक्टर भन्दा बढी क्षेत्रमा जुनार खेती हुँदै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्