मिथिलाञ्चलमा छठ पर्वको तयारी सुरु
जनकपुरधाम – मिथिलाञ्चल लगायत तराई÷मधेसमा हर्षोल्लासपूर्वक मनाइने छठ पर्वको तयारी सुरु भएको छ ।
अन्न कुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वको तयारी सुरु हुन्छ । छठ पर्वको लागि अहिले जनकपुरधामका पोखरीहरूलाई सजाउने कार्य जारी रहेको छ भने बजारमा पनि पूजा सामग्री किन्नेहरूको चहलपहल बढेको छ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहल पहल बढेको हो । आदिदेव सूर्य भगवानलाई अर्घ्य दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, इनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रूपले श्रृंगारिँदै छ । खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरीहरू गंगासागर, धनुष सागर, अंगराजसर, दशरथ तलाउ लगायतका पोखरीहरूलाई सजाइँदै छ । तिहार सकिए लगत्तै छठको तयारी सुरु भएको गंगासागर छठ पूजा समिति अध्यक्ष हरिनारायण गुप्ताले बताउनु भयो । उहाँले विगतको भन्दा राम्रो व्यवस्थापन र शृङ्गार गरिने बताउनु भयो ।
जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुष सागर तथा अंगराजसर पोखरीमा मात्रै ११ हजारभन्दा बढी श्रद्धालुहरू छठ पूजा गर्ने गर्दछन् । जनकपुरधामका साथै तराई मधेसका गाउँ—गाउँमा रहेका पोखरीहरूलाई समेत छठ पर्वलाई लिएर सर सफाइका साथै सजाउने कार्य भइरहेको छ ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोस्रो दिन साँझ प्रसादको रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ ।
प्रतिक्रिया राख्नुहोस्