छठ पर्व आजदेखि विधिपूर्वक सुरु

महोत्तरी- मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो ।

जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज व्रतीहरुले नहाय खाय अर्थात् नुहाएर खाने गर्दछ । आज व्रतालुले जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइनेछ ।

धनुषाः मधेस प्रदेशको राजधानी जनकपुरधाम फलफूल मन्डीमा छठ पर्वको लागि बिक्रीमा राखिएको केरा धारी। छठ पर्वमा सिङ्गो घरी केरा चढाउने परम्परा रहेकाले केराको अहिले अत्यधिक माग रहेको छ ।

खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (विनानुन हालेको) खानेकुरा खाने चलन छ ।

त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गर्नेछन् ।

काठमाडौँ कमलपोखरीस्थित कमलपोखरी किनारमा छठ पर्वका लागि झिलिमिली बत्ती हाली सजाउँदै ।

त्यसको भोलिपल्ट अर्थात् शुक्रबार एकाबिहानै पुनःछठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातकालीन उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्व सम्पन्न गर्नेछन् ।

महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुईयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

छठ पर्वका लागि वीरगञ्जको घण्टाघरमा ढकिया,नाङ्लो, डालो,लगायत बाँसका सामग्री किनमेल गर्दै सर्वसाधारण । छठ पर्वको दिन पूजाको सामग्री राखेर छ्ठघाटमा लैजान बाँसका सामग्री प्रयोग गरिन्छ ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमहरुले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्‍याउनुपर्छ तर चढाउने सामथ्र्य नभएकाहरु गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रशन्न हुने जनविश्वास रहेको पुजारी पाठकले बताउनुभयो ।

पहिलापहिला तराई मधेसको जिल्लामा मात्रै मनाइने छठ पर्व अहिले देशको सङ्घीय राजधानी काठमाडौँसहित देशको प्रमुख सहर पोखरा, नारायणघाट, धरान, इटहरीलगायत स्थानमा पनि धुमधामका साथ मनाउन थालिएको हो ।

सुनसरीमा पनि छठको तयारी सकियो

लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठको सम्पूर्ण तयारी पूरा भएको छ । तिहार सकिएसँगै छठ पर्व मनाउन जुटेका सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँमा बसोबास गर्नेहरुले पर्वको तयारी सकेका हुन् ।

इनरुवासहित कोसी, भोक्राहा, हरिनगर, देवानगञ्ज, धरान, इटहरी, बराहक्षेत्र, दुहबी, रामधुनी, गढी, बर्जु गाउँपालिकामा बसोबास गर्ने छठको तयारी पूरा भएको इनरुवाका मिथलेश झाले बताउनुभयो ।

छठ पर्वका लागि आवश्यक पर्ने सामग्री जुटाउनुका साथै घाट ओगट्नेलगायत काम पूरा भएको स्थानीय हरिनगरका चन्दन मेहताले जानकारी दिनुभयो ।

केहीदिनदेखि छठमा प्रयोग हुने बाँसको चङ्गेरा (दाउरी), सुप (नाङ्लो), डाला, सुपली, केरालगायत सामग्री खरिद गर्नेको बजारमा घुइँचो लागेको गौरी यादवले उल्लेख गर्नुभयो ।

जिल्लाको आसपासमा रहेका स्थानीय हाटबजारमा बाँसबाट बनेका सामान र छठ पर्वमा प्रयोग हुने अन्य सामान कतिपय व्यापारीले सवारीसाधनको प्रयोग गरेर गाउँघरमा पुर्‍याएका छन् ।

छठ पूजामा प्रयोग हुने सामग्रीसँगै खाद्यान्न, फलफूल र लत्ताकपडा किन्नेको पनि भीड बढेसँगै व्यापार पनि वृद्धि भएको व्यवसायीले बताएका छन् ।

छठ पर्वमा केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, केराउ, नरिवल, मिठाइ, चना, ठेकुवा, कसार, कागती र अदुवालगायत सामग्री अत्यधिक खपत हुने भएकाले समयमा नै आवश्यक सामग्री जुटाइएको स्थानीय यादवले बताउनुभयो ।

एकघरी केराको मूल्य अहिले रु पाँच सयदेखि रु आठ सयसम्म पुगेको व्यापारीले बताएका छन् । छठ पर्वमा केराको सिङ्गै घरी प्रसादका रुपमा चढाउनुपर्ने भएकाले बजारमा केराको माग बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.