सिरहा बजारमा छठ पर्वको रौनक
सिरहा- छठ पर्वका कारण आर्थिक नगरी सिरहा, मिर्चैया, गोलबजार अन्य दिनको तुलनामा चहल पहल बढेको छ । छठ पर्वका लागि आवश्यक समान जोहो गर्न मानिसहरु गोलबजार बजार आएका हुन् । सिरहा गोलबजार धम्नी माईस्थान क्षेत्रका सडकमा छठका समान किनबेच गर्नेको घुँईचो छ ।
सिरहा लगायत मध्य तराईका गाउँघर, छठिघाट र स्थानीय एफएम रेडियो छठका गीतले गुञ्जायमान छन् । सिरहा लगायत तराई मधेसका बजारहरुमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामग्री, भाडाँवर्तन, लत्ता कपडा इत्यादिको किनमेल बढेको छ ।
कात्तिक महिनाको शूक्ल पक्षको चौथी तिथीका दिनबाट विधिवत रुपमा छठ शुरु हुने गर्दछ । सप्तमी तिथीका दिनको बिहानसम्म गरि चार दिन छठ मनाइन्छ । तराई मधेसमा बस्ने भोजपुरी र मैथीली भाषी हिन्दुको मुख्य पर्वमा पछिल्लो समयमा अन्य समुदायको पनि आकर्षण बढ्दै गएको छ ।
छठपूजामा छठी मातालाई चढाइ मुख्य प्रसाद ठेकुवा हो । जुन गहुँको शुद्ध पिठोमा भेली र चीनी मिसाएर घीउ वा तोरीको तेलमा पकाइन्छ ।
यस्तै छठी मातालाई अर्पण गरिने अन्य प्रसादहरुमा स्याउ, केरा, सुन्तला, पानी सहितको काँचो नरिवल, उखु, हरियो बोडी, पानी सिङगडा, भोगटे, मुला, अदुवाको बोट लगायतका फलफुल र हरियो तरकारीहरु हुन् ।
यी फलफुल र तरकारीको पसल सिरहा बजारको मुख्य सडकका फुटपाथ र सडक छेउमै थापिएका छन् । छठ शुरु भएसँगै थापिएका पसलहरुमा दिनभर ग्राहकहरु भिड देखिन्छ ।
गोलबजार -४ मनोज कुमार यादव सबै कुरा घरमा उपलब्ध नहुने भएकोले किन्नुपर्ने बाध्यता रहेको बताउँछन् । ‘कुनै कुनै समान घरमा हुन्छ, तर अधिकांश हुँदैन, नभएका समान किन्नैपर्छ,’ उनले भने ‘समान धेरै महंगो भईसकेको छ ।’
यसवर्ष कात्तिक २२ गते बिहिवार सँझिया घाट अर्थात मुख्य छठको दिन हो । शुक्रबार बिहान उदाउँदै गरेको सुर्यलाई अर्घ दिएपछि छठ समापन हुन्छ ।
प्रतिक्रिया राख्नुहोस्