काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा छठ घाटको निर्माण र सजावट गरिंदै
काठमाडौँ – प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म मनाइने छठको व्रतविधि आजदेखि सुरु भएको छ ।
चतुर्थीका दिन आज बिहान बर्तालुले स्नान गरी एक छाक खाएर बसेका छन् । यसलाई ‘नहाय खाय’ भनिन्छ । छठको विधि कार्तिक कृष्ण प्रतिपदा अर्थात् कोजाग्रत पूर्णिमाका दिनदेखि सुरु भएपनि मुख्य व्रतविधि आजदेखि सुरु भएको हो ।
यस वर्ष कात्तिक २२ गते बिहीबार छठको मुख्य दिन हो । यस दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ ।
कात्तिक २३ गते शुक्रबार कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ ।
कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।
सरकारले यो पर्वका अवसरमा सार्वजनिक बिदा दिने गरेको छ । सूर्यको पूजा, आराधना र उपासनासँग जोडिएको यस पर्व तराईसँगै पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, कमलपोखरी लगायत वागमती, नख्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको छ ।।
प्रतिक्रिया राख्नुहोस्