प्रयोगमा आउन सकेनन् प्रदेश सरकारले बनाएका संरचना

 सिन्धुली-  बागमती प्रदेश सरकारले सिन्धुलीका विभिन्न स्थानमा निर्माण सम्पन्न गरेका संरचना प्रयोगमा नआउँदा अलपत्र परेका छन् । प्रदेश सरकारले सिन्धुलीमा निर्माण गरेको करोडौँ लगानीका योजनाहरू प्रयोग विहीन भएको हो ।

बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाबाट चार करोड ३८ लाख ९९ हजार बढी लागतमा सिन्धुलीको कमलामाई नगरपालिका ३ स्थित ऐतिहासिक सिन्धुलीगढी परिसरमा रानी दरबार निर्माण भएको छ । तर दरबार निर्माण भएको लामो समय बित्दा पनि दरबार प्रयोगमा आउन सकेको छैन ।

तुल्सी÷एरिया जेभीले २०७७ पुस २१ गते निर्माणको लागि सम्झौता गरी २०७९ जेठ १६ गते निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएको भए पनि समयमा निर्माण सम्पन्न नभएपछि म्याद थप गरेर रानी दरबारको पुनर्निर्माण सम्पन्न गरेको थियो ।

२०५२ सालमा माओवादीले सिन्धुलीगढीबाटै आन्दोलन सुरु गरेसँगै त्यहाँ सुरक्षाकर्मी बस्न छाडेपछि रानी दरबार संरक्षणको अभावमा भग्नावशेष भएको थियो । भग्नावशेष दरबारलाई बागमती प्रदेश सरकारले पुरानै शैलीमा निर्माण सम्पन्न गरिसकेको छ । तर निर्माण सम्पन्न गरिसकेको दरबार प्रयोग विहीन अवस्थामा छ ।

बागमती प्रदेश सरकारकै ७ करोड ४६ लाख बढी लागतमा सिन्धुलीको कमलामाई नगरपालिका ५ मा निर्माण भएको रङ्गशाला प्यारा फिट प्रयोग विहीन भएको छ ।

कमलामाई नगरपालिकामा खेल क्षेत्रलाई टेवा पु¥याउन बागमती प्रदेश सरकारकारले रङ्गशालाको प्यारा फिट निर्माण सम्पन्न गरी कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिसकेको भए पनि रङ्गशाला प्रयोग विहीन छ । १६ सय जनाले एकै पटकमा खेल हेर्न मिल्ने गरी संरचना निर्माण गरेको भए पनि खेलमैदान निर्माण हुन नसक्दा रङ्गशाला प्रयोगमा आउन सकेको छैन ।

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ मा बागमती प्रदेश सरकारले भ्यु टावर बनाएको छ । तर भ्यु टावर प्रयोगमा नआउँदा टावरमा फिट गरिएका झ्यालका सिसा लगायतका संरचना फुट्न थालिसकेको छ ।

प्रदेश सरकारबाट भ्याट बाहेक १ करोड ९२ लाख २३ हजार ६ सय ४५ रुपैयाँ लागमा बनेको भ्यु टावर निर्माण व्यवसायी ड्रागन कन्स्ट्रक्सन प्रा.लीले २०७८ साल जेठ १५ गते नै निर्माण सम्पन्न गर्नुपर्न गरी कामको जिम्मा लिएर भ्यु टावर बनाएको थियो ।

बागमती प्रदेश सरकारले सिन्धुलीको विकास गर्न पर्यटन कृषि, भौतिक पूर्वाधार लगायतको क्षेत्रमा विशेष लगानी गरेको छ ।

सोही अनुसार पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सिद्ध बाबा मन्दिर जाने आन्तरिक तथा बाह्रय पर्यटकहरूलाई भ्यु टावरबाट सिद्ध बाबा मन्दिर परिसर र सिन्धुली सदरमुकामको दृश्य हेर्नलाई सहज हुने भन्दै टावर बनाएको भए पनि प्रयोगमा आउन सकेको छैन ।

बागमती प्रदेश सरकारले बनाएका कतिपय योजना प्रदेशले नगरपालिकालाई हालसम्म हस्तान्तरण नगरेकाले प्रयोगमा आउन नसकेको कमलामाई नगरपालिका सिन्धुलीका अधिकृत सागरकुमार ढकालको भनाइ छ । कतिपय बनेका योजना हस्तान्तरण भएको छैन । हस्तान्तरण भैसकेका पनि अधुरै छन् उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.