नेपाली मौलिक खानाको प्रदर्शनी काठमाडौँमा
काठमाडौँ – नेपाली मौलिक खानाको प्रवर्द्धनसँगै पर्यटन विकासलाई टेवा पुर्याउन राजधानीमा एक दिने मौलिक खाना प्रदर्शनीको आयोजना गरिएको छ । सेफ्स एसोसिएसन अफ नेपालले आयोजना गरेको उक्त प्रदर्शनीमा सातै प्रदेशका १३ प्रकारका रैथाने मौलिक खाना समावेश गरिएको छ ।
नेपाली मौखिक खानाको प्रवर्द्धनले राष्ट्रिय स्तरमा मात्रै होइन,अन्तर्राष्ट्रिय रुपमा पनि नेपालको पहिचान गराउँछ । साथै नेपालको पर्यटन विकासका लागि यसले महत्त्वपूर्ण भूमिका खेल्छ । यही उद्देश्य राखेर काठमाडौँमा एक दिने मौलिक खाना प्रदर्शनीको आयोजना गरिएको छ ।
प्रदर्शनीमा सातै प्रदेशका स्थानीय र रैथाने खानाहरू राखिएको थियो । सेफ्स एसोसिएसन अफ नेपालका अनुसार नेपाली मौलिक खानाको प्रवर्द्धन कार्यक्रममा सातै प्रदेशका सेफले देशका सात प्रदेशलाई प्रतिनिधित्व गर्ने विभिन्न जातजातिका १३ वटा रैथाने खानाको प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले खानाका परिकारहरूको अवलोकन गर्नुभएको थियो ।
सेफ्स एसोसिएसन अफ नेपालका अनुसार नेवारी परम्परागत खाना चटामरी, आलु, तामा र बोडी,पहाडी क्षेत्रको खाना कोदो तथा सिस्नुको सुप,सादा स्थानीय खाना,कालो मासको दाल,स्वेदी अचारका विभिन्न प्रकारहरू,गुल्मी तथा धादिङ लगायतका क्षेत्रमा उत्पादित कफी,लेक क्षेत्रमा पाइने टिमुरको छोप लगायत विभिन्न रैथाने खानाहरू प्रदर्शनीमा राखिएका थिए ।
नेपाली मौखिक खानको प्रवर्द्धन र पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले मौलिक खानाका स्वाद पस्कँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न खाना प्रदर्शनीमा राखिएको आयोजक पक्षले जनाएको छ ।
विश्वका विभिन्न मुलुकमा नेपालीले सञ्चालन गरिरहेका होटेल तथा रेस्टुराँहरू र केही पाँचतारे होटेलमा नेपाली खानालाई अझै परिमार्जन र परिष्कृत गर्दै विश्वव्यापीकरण गरिरहेका छन् ।
नेपालमा हिमाली जडीबुटीलाई मसलाका रूपमा प्रयोग गरी पकाइने भएकाले पनि नेपाल खानाका रूपमा पनि प्रसिद्धि प्राप्त गरेको छ ।
कतिपय देशहरूमा नेपाली खानालाई आफ्नो देशको खाना भन्दै विक्री गरिरहेकाले पनि नेपाली रैथाने खानाहरूको प्रदर्शनले नेपालको खाना संस्कृति र पहिचान संरक्षण गर्न मद्दत गर्ने समेत एशोसिएशनको भनाई छ । यसअघि नै नेपाली मौलिक खानालाई विश्वव्यापी गर्ने राष्ट्रिय अभियान नै सुरु भइसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्