पर्यटन प्रवर्द्धनका लागि दोस्रो मर्स्याङ्दी महोत्सव हुँदै
लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिकामा दोस्रो पर्यटन महोत्सव हुने भएको छ । पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले दोस्रो मर्स्याङ्दी महोत्सव गर्न लागेको हो ।
गाउँपालिकाले आगामी २७ गतेदेखि मंसिर १ गतेसम्म दोस्रो मर्स्याङ्दी महोत्सव २०८१ गर्न लागेको हो । स्थानीय कला संस्कृतिको संरक्षण र ग्रामीण पर्यटनको प्रवर्द्धनका लागि महोत्सवको आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।
गाउँपालिकाले स्थानीय पर्यटकीय सम्पदाहरूको प्रवर्द्धनका लागि फरक मितिमा फरक फरक स्थानमा विविध कार्यक्रम आयोजना गरेको छ । तय भएको कार्यक्रम अनुसार २७ र २८ गते मर्स्याङ्दी–३ खुदीमा हरिबोधिनी एकादशी मेला हुने भएको छ । खुदीस्थित मर्स्याङ्दी नदिमा एकादशीको अवसरमा फूलको डोरी तार्ने, सोही स्थानमा रहेको अमर मावि प्राङ्गणमा सांस्कृतिक कार्यक्रम वडा स्तरीय भलिबल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, स्वास्थ्य शिविर, राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थल पार्क, मस्यांदी ३, ढंगैबेसी अवलोकन, डा। हर्क गुरुङ समाधि स्थल पार्क अवलोकन लगायतका कार्यक्रम तय भएको छ ।
त्यसै गरी कार्तिक २९ गते मर्स्याङ्दी–४, जगतमा रहेको तातोपानी कुण्डमा तातोपानी महोत्सव हुने भएको छ । जगत तातोपानी कुण्डमा स्नान, स्थानीय कला संस्कृति प्रदर्शनी, स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा बिक्री वितरणलगायत कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।
त्यसै गरी कात्तिक ३० गते पालिका अन्तर्गतका विभिन्न स्थानमा भीर मह सिकार कार्यक्रम रहेको छ । कार्यक्रम वडा नं। २ घन पोखरा, वडा नम्बर ४ को मिप्रा, वडा नम्बर ५को घेर्मु र वडा नम्बर ६ को बाहुन डाँडा क्षेत्रका भीरहरूमा महशिकार महोत्सव गरिने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै गाउँपालिकाले मङ्सिर १ गते पालिका अन्तर्गतका विभिन्न झरनाहरूमा झरना महोत्सव गर्ने भएको छ । गाउँपालिका अन्तर्गत वडा नम्बर ४ को स्याँगे झरना, बुङ छहरा र अक्टोपस झरनामा झरना महोत्सव हुनेछ । महोत्सवमा मर्स्याङ्दी गाउँपालिका ४ स्याँगे र च्याम्चेमा हुने कार्यक्रममा झरनाहरूको अवलोकन, स्थानीय कला संस्कृति प्रदर्शनी, स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा बिक्री वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
सो बाहेक गाउँपालिकाले महोत्सव अवधिभर होमस्टेको प्याकेज बिक्री तथा प्रचारप्रसार गर्ने, होमस्टेमा आएका पाहुनाहरूलाई स्थानीय परिकार विक्री वितरण, सांस्कृतिक कार्यक्रम प्रदर्शनी लगायतका कार्यक्रम तय गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले हरीबोधनी एकादशीको अवसरमा यसअघि २०७५ मङ्सिरमा पहिलो मर्स्याङ्दी महोत्सवको आयोजना गरेको थियो । हाल सिङ्गो गाउँपालिकालाई प्रवर्द्धन गर्ने लक्ष्यसहित बृहत् तयारीका साथ महोत्सव गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्