राजश्व छलीको सामान लिएर फर्किदा स्थानीय र सुरक्षाकर्मी बिच तनाव, प्रहरीको गाडी फुट्यो
रुपन्देही – रुपन्देहीको लुम्बिनी क्षेत्रबाट राजस्व छलीको आशङ्कामा सामान नियन्त्रणमा लिएर फर्किने क्रममा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा भएको छ । बिहीबार बेलुकी ६ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ स्थित मुझानमा स्थानियले सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।
स्थानीय दिलीप लोधको घरबाट राजश्व छली गरेको अवैध ११२ बोरा चिनी नियन्त्रणमा लिएर फर्किने क्रममा झन्डै २ सय जना स्थानीयहरूले बाटो अवरोध गरेर चिनी लुटपाट गर्ने मनसायले सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल २७ नम्बर गण हेड क्वाटर रुपन्देहीका प्रमुख एसपी आनन्द थापाले स्थानियले सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई बटा गाडीको सिसा फुटाएको बताउनु भयो ।
स्थानीयको अवरोध पछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सहित नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख सहित राजश्व अनुसन्धान कार्यालयको टिमले भिडलाई नियन्त्रण गरेर फर्किएको प्रहरीले जनाएको छ ।
राजस्व छलेर चिनी गोदाम गरी राखिएको भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्नको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलबाट अनुसन्धान अधिकृत राज बहादुर विष्टसहित ४ जना र सशस्त्र प्रहरी बल, नेपाल राजस्व प्रहरी इकाई बुटवलबाट सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको कमान्डमा १० जनाको टोलीले बेलुकी ५ बजे चिनी नियन्त्रणमा लिएको थियो ।
भिड नियन्त्रणका क्रममा सशस्त्र प्रहरी नायव निरीक्षक काशी प्रसाद चौधरीको दायाँ हात र सशस्त्र प्रहरी बल, नेपाल राजस्व प्रहरी इकाई बुटवलमा कार्यरत सशस्त्र प्रहरी जवान चन्द्रमा पाण्डेको दायाँ हातमा सामान्य चोट लागेको थियो ।
घाइते सुरक्षाकर्मीहरूको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारपश्चात् उनीहरू सम्बन्धित कार्यालयमा फर्किएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्