महोत्सवमा पहिलो पटक अन्डर वाटर फिस टनेल
नवलपुर- पूर्वी नवलपरासीको गैँडाकोमा नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा सञ्चालन हुन लागेको महोत्सवमा नेपालमा पहिलो पटक ‘अन्डर वाटर फिस टनेल’ राखिने भएको छ ।
गैँडाकोट स्थित नारायणी नदी किनारमा कात्तिक २६ देखि सञ्चालन हुने ‘दोस्रो गण्डकी प्रदेश महोत्सव २०८१ मा नेपालमै पहिलो पटक पानी भरिएको टनेलभित्र गएर माछा हेर्ने व्यवस्था गर्न लागिएको हो । महोत्सव स्थलमा ६० फिट चौडाइ तथा दुई सय फिट लम्बाइ भएको टनेलमा विभिन्न प्रकारका माछा राखेर टनेलबाट हेर्ने व्यवस्था गर्न लागिएको राजधानी एम्युजमेन्ट राइट्स नेपालका व्यवस्थापक अभय चौधरीले जानकारी दिनुभयो । टनेलभित्र पानीमा राखिने माछा ६ फिटसम्मको हुने भन्दै चौधरीले ती माछाहरू चाइनाबाट ल्याइएका तथा विभिन्न रङ्ग र आकारका भएका बत्ताउनभयो ।
टनेलभित्र एकै पटक पाँच सय जना मान्छे प्रवेश गरेर माछा हेर्ने व्यवस्था गर्न लागिएको उहाँले बत्ताउनुभएको छ। दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्प मेला, अटो मेला, सूचना तथा प्रविधिहरूको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरू, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सय बढी स्टलहरू रहने महोत्सवका मूल संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो। अहिले महोत्सव स्थलमा धमाधम स्टल निर्माण, विभिन्न जातजातिको सांस्कृतिक घर निर्माणलगायतका कामहरू भइरहेको भट्टचनले बत्ताउनुभयो ।
सिङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवर्द्धन गर्नका लागि यो महोत्सव आफैमा महत्त्वपूर्ण भएको उहाँले दाबी गर्नुभएको छ । कात्तिक २६ गते सुरु भएर मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा रु एक करोड ७० लाखको कारोबार हुने तथा रु ३० लाख बचत हुने अनुमान गरिएको मूल संयोजक भट्टचनको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्