काँग्रेससँगको सत्ता सहकार्यलाई अझै सुदृढ बनाउनुपर्नेमा एमालको निश्कर्ष
स्थानीय तह उपनिर्वाचनमा केन्द्रित हुन नेता-कार्यकर्तालाई निर्देशन
काठमाडौ- सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले)ले काँग्रेससँगको सहकार्यलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ ।
शनिवार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले केन्द्रिय सचिवालय बैठकले सो कुरामा जोड दिएको हो । सरकारको ४ महिने कार्यकाल आधारभुत रुपमा ठिक ढंगले अघि बढ्दै गइरहेको निष्कर्ष निकाल्दै बैठकले दुई दल बीचको सत्ता साझेदारीलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयो ।
उहाँले सरकारको कामलाई अझ बढी प्रभावकारी बनाउनकालागि गरी दुई दलबीच संघ, प्रदेश र स्थानीय तहमा समेत संयन्त्र बनाएर अघि बढ्ने निर्णय पनि दुई दलबीच भएको बताउनु भयो ।उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘सरकारको ४ महिने कार्यकालको समिक्षा गरेका छौं ।
सरकारले आधारभुत रुपमा ठिक ढंगले काम गर्दै अगाडि बढिरहेको दुई मुख्य राजनीतिक दलहरुको बीचमा समझदारीलाई अझ प्रगाढ बनाउन र काममा अझ बढी समन्वय ल्याउनको निम्ति हालै दुई दलको बीचमा संयन्त्रहरु पनि बनेको र यो विश्वासको वातावरणलाई अझ सुदृढ गर्दै लैजानका निम्ति सरकारलाई सफलता प्राप्त होस भन्ने कुरामा पनि हामीले जोड दिएका छौं ।’ एमालेले दुई दल बीचको विश्वासको वातावरण खदिलो बनाउन पनि सरकारलाई सुझाव दिइएको जनाएको छ ।
बैठकले ४४ वटा स्थानीय तहको रिक्त पदमा हुने उपनिर्वाचनमा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई केन्द्रित हुन आह्वान गरेको हो । बैठकले प्रदेश कमिटीले सिफारिस गरी पठाएका उम्मेदवारको नाम अनुमोदन पनि गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले सो उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउनका लागि सम्पूर्ण सामथ्र्यका साथ परिचालन हुन सिंगो पार्टी पंक्तिलाई आह्वान गरिएको पनि बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्