सत्तारुढ दलहरुले नविन विचार र आवाजलाई दवाउन खोजे : रास्वपा
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीको दोस्रो चरणको आन्दोलनमा साथ दिन आम जनतालाई आह्वान गरेको छ । शनिवार बसेको पार्टीको केन्द्रिय समिति बैठकले सरकारविरुद्ध घोषित दोस्रो चरणको आन्दोलनलाई सशक्त बनाउनका लागि साथ दिन नेपाली जनतालाई आह्वान गरेको हो ।
राज्य सत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साथै साझा राष्ट्रिय मुद्दाको हरुमा केन्द्रित रही सञ्चालन गर्न गईरहेको दोस्रो चरणको सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आम नेपाली जनतामा हार्दिक आह्वान समेत बैठकले गरेको पार्टीका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभाकी सांसद सोविता गौतमले जानकारी दिनुभयो ।
रास्वपाले सहकारी गठी, संगठित अपराध र सम्पती शुद्धिकरणको मुद्दामा छानविनका लागि हिरासतमा रहेका पार्टीका सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधको आधारमा थुनामा राखेको भन्दै दोस्रो चरणको सडक आन्दोलन पनि घोषणा गरेको छ । सोही आन्दोलनलाई सशक्त बनाउनका लागि बैठकले आम जनतालाई आह्वान गर्ने निर्णय गरेको सांसद गौतमले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सभापति रवि लामिछाने विरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी यस कार्यको घोर भत्सर्ना गर्दछ । यो कारबाही सत्तारुढ राजनीतिक दलहरुले रास्वपाको बढदो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षडयन्त्र हो भन्ने हाम्रो ठम्याई छ ।
संसदीय छानविन समितिले बुझाएको प्रतिवेदनको पृष्ठ नम्बर ४४९ मा सहकारी संस्थाबाट गोर्खा मिडिया प्रालिमा रकम लैजाने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको भन्ने तथ्य उल्लेख गरिएको भएतापनि सोही अभियोगमा प्रक्राउ गरिएको र उक्त पक्राउ पछि वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रुपमा निषेध गर्न हो भन्ने कुरा प्रष्ट देखिन्छ । कुनै बेला राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेका दलहरु आज नविन विचार र आवाजलाई दवाउन उद्धत छन ।
राज्यको यस्तो स्वेच्छाचारी, दमनकारी प्रवृत्ति नेपालको लोकतन्त्र, संविधान र विधिको शासन विपरित छ । रास्वपा आम नेपाली जनतालाई राज्यको यो खतरापूर्ण चरित्रलाई पहिचान गर्न आग्रह समेत गर्दछ । तसर्थ, राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य सत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साथै साझा राष्ट्रिय मुद्दाको हरुमा केन्द्रित रही संचालन गर्न गईरहेको दोस्रो चरणको सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आम नेपाली जनतामा हार्दिक आह्वान समेत गर्दछ ।
मिति २०८० माघमा राष्ट्रिय स्वतन्त्र पार्टीले तयार पारी सम्माननीय प्रधानमन्त्रीलाई समेत बुझाएको सहकारी र लघुवित्त संस्थाह्रुको समस्या समाधान नीतिगत योजना र समाधानका उपायहरुलाई आधार मान्दै सहकारी, लघु वित्त एवं मिटरब्याज पीडितहरुको सरोकार सम्बन्धि तृणमूल अभियानलाई गति दिन एक महिना भित्र रास्वपाका सम्बन्धित पालिकाका संरचनाहरुमा सहकारी नियमनको आवश्यक्ता एकिन गरी कार्यक्रम बनाएर पीडितहरुको समस्या अनुसार वचत रकम फिर्ता गराउन दवावमूलक कार्यक्रमको अगुवाई गर्ने ।
आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राष्ट्रिय राजनीतिमा देखिएका स्वेच्छाचारी राजनीतिक प्रतिसोध, सर्वत्र व्याप्त ब्यथिति र संगठित भ्रष्टाचारका विरुद्ध आम जनसमुदायमा जागृति फैल्याउने अभियान सञ्चालन गर्ने । ’
त्यसैगरी बैठकले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पनि मुलुकमा विद्यमान राजनीतिक प्रतिशोध, सर्वत्र व्याप्त बेथिति र भ्रष्टाचारविरुद्ध आम जनतालाई जागृत बनाउने गरी अभियान संचालन गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्