भक्तपुरका किसानलाई धान भित्र्याउन चटारो
भक्तपुर- धान भित्र्याउन ठिक्क परेको धानवालीमा बैमौसमी वर्षाले क्षति पुगेपछि दुःखी बनेका भक्तपुरका किसानहरुलाई तिहारपछि अहिले घरमा धान भित्र्याउन भ्याईनभ्याइ छ ।
किसानहरु धान झार्ने, सुकाउने, केलाउने कार्यमै व्यस्त छन् । असारमा रोपेको धान कात्तिक मंसिरमा भित्र्याउन ठिक्क हुन्छ । भित्र्याउन ठिक्क भएको बेला परेको बेमौसमी वर्षाले धानमा ठूलो क्षति पुग्न गयो ।
भक्तपुरका चार वटा नगरपालिका मध्ये सूर्यविनायक, भक्तपुर, मध्यपुरथिमी र चाँगुनारायण नगरपालिकाका अधिकांश ठाउँमा अहिले धान भित्र्याउनकै चटारो चलेको हो ।
विगत चार पाँच वर्षदेखि डी वाई २८ जातको धान रोपेर पर्याप्त धान उत्पादन गरिरहेका यहाँका किसान केही वर्षयता स्थानीय लोकल जातको धान खेती गर्दै आएका छन् ।
स्थानीय जातको बीउको संरक्षण गर्ने दायित्व कृषकको भएको बताउने यहाँका किसान भक्तपुर नगर भित्र धेरै धान उत्पादन हुने गरेको बताउँछन् ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष ८ प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र भक्तपुरका सूचना अधिकारी क्रान्ति राईले बताउनु भयो ।
आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रलाई समयसापेक्ष नयाँ प्रविधिको माध्यमबाट आधुनिकिकरण र व्यवसायीकरण गरी समग्र जिल्लावासीको जीवस्तरमा सुधार ल्याउनु पर्ने उहाँको भनाइ छ ।
त्यही अनुसार भक्तपुरका किसान धानधेतीमा बढी उत्साहित भएको दावी उहाँको छ । नेपालको मुख्य बालीमा धान उत्पादन पर्छ । नेपालको आर्थिक वृद्धिमा मुख्य हिस्सा हुने धान कूल ग्रार्हस्थ उत्पादनमा एक चौथाइ हिस्सा हुने गरेको छ ।
भक्तपुरमा अघिल्लो वर्षको तुलनामा यो वर्ष १.५ प्रतिशतले धान खेती वृद्धि भएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्