पर्यटकको चाप बढ्दा तिलिचो आधार शिविरमा बास पाउनै मुस्किल
मनाङ – विश्वकै सर्वाधिक उचाइमा रहेको मनाङस्थित तिलिचो ताल पुग्ने पर्यटकहरूको सङ्ख्या वृद्धि भएसँगै आधार शिविरमा बास व्यवस्थापनमा कठिनाइ भएको छ । तिलिचो आधार शिविरमा रहेका होटलहरुको क्षमता भन्दा बढी पर्यटक भएपछि बास व्यवस्थापनमा कठिनाइ भएको हो ।
केही वर्ष अघिसम्म जम्मा तिन वटा होटेल रहेको तिलिचो आधार शिविरमा पछिल्लो समय आठ वटा व्यवस्थित होटलहरु बनिसकेका छन् । पछिल्लो वर्षहरूमा तिलिचो गन्तव्य बनाएर आउने पर्यटकहरूको सङ्ख्या बढेसँगै स्थानीय व्यवसायीहरूले होटेल क्षमता पनि बढाएका हुन् । हाल पहिलाको तुलनामा दोब्बर होटेल क्षमता भए पनि पर्यटकको सङ्ख्या अधिक हुँदा अझै पनि बास व्यवस्थापनमा समस्या भएको स्थानीय व्यवसायीहरूले बताएका छन् ।
चाडपर्व बिदाको समयमा अधिकांश आन्तरिक पर्यटकहरू तिलिचो पुग्ने गरेका छन् । पूर्व तयारी तथा सम्पर्क नगरी तिलिचो पुग्ने पर्यटकहरूलाई स्थानीय व्यवसायीहरूले किचन तथा डाइनिङ हलमा समेत सुत्ने व्यवस्था गर्दै आएका छन् । हाल विदेशी भन्दा तिलिचो ताल पुग्ने आन्तरिक पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको मनाङका पर्यटन व्यवसायी सागर गुरुङले बताउनुभयो ।
विदेशी पर्यटकहरू प्राय गाँस बासको पूर्व तयारी एवं होटेल बुकिङ गरेर मात्रै गन्तव्यमा पुग्ने तर आन्तरिक पर्यटकहरू विना तयारी गन्तव्य पुग्ने गर्दा व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । अधिकांश आन्तरिक पर्यटकहरू मनाङको खाङसारसम्म सवारी साधनमा पुगेर दोस्रो दिन तिलिचो आधार शिविरमा पुग्ने गर्दछन् ।
अन्नपूर्ण पदयात्राको लागि उपयुक्त मौसम सुरु भएसँगै सुनसान पदमार्गमा पर्यटकहरू आउन थालेका हुन् । अहिले थोरङला पास गर्ने भन्दा तिलिचो ताल तर्फ जाने पर्यटकहरूको सङ्ख्या अधिक रहेको मनाङका पर्यटन व्यवसायीहरूले बताएका छन् ।
अन्नपूर्ण पदमार्गमा सेप्टेम्बर देखि नोभेम्बर सम्म र फेब्रुअरीदेखि अप्रिलसम्म पदयात्राको पिक सिजनको रूपमा लिइन्छ । पछिल्ला वर्षहरूमा पर्यटकहरूको उत्साहजनक आगमन भएसँगै स्थानीय व्यवसायीहरूमा पनि आशा जागेको छ । विदेशीसँगै स्वदेशी पर्यटकहरूको आगमनले लमजुङ सहित मनाङको पर्यटन क्षेत्र चलायमान हुने गरेको छ ।
लमजुङ सदरमुकाम बेसीशहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रूपमा चिनिन्छ । बेसीशहरबाट खुँदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ । संसारकै सबैभन्दा उचाइमा रहेको मनाङस्थित तिलिचो तालसम्म पुग्ने पर्यटकहरू पनि अन्नपूर्ण पदमार्ग भएर आउने गरेका छन् ।
पछिल्लो वर्षहरूमा तिलिचो तालसम्म बाह्य भन्दा आन्तरिक पर्यटकहरू बढी मात्रामा पुग्ने गरेका छन् । विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा आउने पर्यटकहरू पनि तिलिचोसम्म पुग्ने गर्दछन् । यात्रा कष्टकर भए पनि मनोरम हिमाली दृश्यसँगै विश्वकै सर्वाधिक उचाइमा रहेको तालसम्म पुगेपछि साहसिक विजयीको रूपमा पनि पर्यटकहरूले लिने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्