पूर्वमन्त्री लिलावल्लभ अधिकारीलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइयो
काठमाडौँ- पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।आईतवार विराटनगरमा निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उहाँलाई काठमाडौं ल्याइएको हो ।
मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उहाँलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो ।
जापान भ्रमण मन्त्रीपरिषद्बाट स्वीकृत नगराइ आफूसँग असम्बन्धित मानिसहरु लिएर गएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो ।
नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले काठमाडौँ ल्याएको हो ।
यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएकाे प्रहरीले जनाएको छ ।
नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ ।
यसअघि नेकपा (एमाले) कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी अधिकारीलाई गरेको कारबाहीलाई शनिबारको एमाले केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्