उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन एकताबद्ध हुन माओवादी केन्द्रको निर्देशन
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले मङ्सिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकताबद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ ।
सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्देशन दिएको हो । मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसहरुलाई अनुमोदन गरेको पनि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनु भया । उहाँले उपनिर्वाचनमा सफलता हासिल गर्न योजनाबद्ध कार्यक्रम बनाउने निर्णय भएको बताउनु भयो । उहाँले मङ्सिर मसान्तसम्म पालिका सम्मेलन गरिसक्ने र साथसाथै वृहत्, वृहंगम, प्रभावकारी र व्यवस्थित जनपरिचालनको कार्यक्रम गर्ने निर्णय भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि तलबाट आएका सबै सिफारिसहरूलाई अनुमोदन गरेको छ । निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन एकताबद्ध भएर पहलकदमी लिनुपर्छ भन्ने अपिल गरेको छ । उपनिर्वाचनमा सफलता हासिल गर्न योजनाबद्ध कार्यक्रम बनाएका छौँ ।
मङ्सिर मसान्तसम्म पालिका सम्मेलन र त्यसका साथसाथै कार्तिकको १० गते पालिकास्तरसम्म गर्ने भनेका थियौँ । अब पालिकाको सम्मेलन पनि र खबरदारी सभा पनि एकैसाथ लैजाने र वृहत्, वृहंगम, प्रभावकारी र व्यवस्थित जनपरिचालनको कार्यक्रम गर्ने ।
पुसको २ गते केन्द्रीय समितिको बैठक बस्ने ।’
प्रवक्ता सापकोटाले वर्तमान सरकार जनहित विपरीत कार्यमा अघि बढिरहेको आरोप लगाउनु भयो । पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्