पुंगी खोलाको अवैध संरचना भत्काउन सुरु

 चितवन – भरतपुरको मध्य भागबाट बग्ने पुङ्गी खोलालाई सौन्दर्यीकरण गर्ने अभियानलाई तीव्रता दिइएको छ । सोमबार अभियान अन्तरगत भरतपुर वडा नम्बर ३ र ४ को सिमाना क्षेत्रबाट अतिक्रमित घर टहरा भत्काउन सुरु गरिएको हो ।

पुङ्गी खोलाको सौन्दर्यीकरण र सिमाङ्कनको कार्य एक साथ भइरहेको छ । महानगरपालिकाले खोलाको संरक्षण, प्रवर्धन र सौन्दर्यीकरणको कार्यका लागि रु १० करोड ८० लाखको ठेक्का लगाइएको इन्जिनियर साकार लामाले जानकारी दिनुभयो । यस अन्तर्गत १.५ किलोमिटरमा सौन्दर्यीकरणको काम हुनेछ । यसअघि वडा नम्बर ४ मा पुंगी खोलाको दोभानबाट करिब ५ सय मिटरको काम सम्पन्न भइसकेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले पुंगी खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको उल्लेख गर्नुभयो । पुंगी खोला विकास तथा सौन्दर्यीकरण कोरिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँ बजेट छुट्टाएको छ । बर्सातको समयमा काम गर्न असहज हुने भएकाले हिउँदको समयमै दुवै कार्यलाई तीव्रता दिइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

प्रमुख दाहालले अबको ३ वर्षभित्र पुंगी खोलाको मुहानसम्म नै सौन्दर्यीकरण काम हुने बताउनुभयो । भरतपुरको गौरवको आयोजनामा रहेको पुंगी खोला सौन्दर्यीकरण गर्ने कार्यमा सक्रिय सहयोग गर्न प्रमुख दाहालले अनुरोध पनि गर्नुभयो । भरतपुर वडा नं ११, २, ३ र ४ भई बग्ने खोलाको लम्बाई ६.६५ किमी रहेको छ । जसमा वृक्षारोपण, फुट रेल, रिटेनिङ्गवाला, रेलिङसहितको मर्निङ र इभिनिङवाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन् ।

गुरुयोजना अनुसार खोला किनारलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने छ। यहाँ पर्यटकले चिया, खाजा खाने स्टेसन, विश्राम स्थल, खुला व्यायामशाला पनि रहने छ । पुंगी खोला र केरुङ् खोलाको सौन्दर्यीकरण गर्ने कार्य महानगरको ढल व्यवस्थापनका लागि महत्त्वपूर्ण आयोजना हो।

बढ्दो सहरीकरणले भरतपुरमा बर्सातको समयमा आकाशे पनि व्यवस्थापनमा समस्या देखिएपछि पुंगी र केरुङ्गा खोलाको सौन्दर्यीकरण र व्यवस्थापनमा महानगर निरन्तर अघि बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.