१७ वर्ष विदेश बसेर फर्किएपछि भेडा चराउँदै

म्याग्दी– बिहान सबेरै उठेर भेडाको गोठमा जानु । पाठा पाठीलाई दूध खुवाउने र भेडालाई घाँस तथा कुँडो खुवाउनु । अनि आफूले खाना खाएर जङ्गलमा चराउन लैजाने काम गरेर भेडा गोठालाको दिन बित्ने गर्दछ । पशु, चौपायाको स्याहारसुसार गर्ने, दानापानी खुवाउने र घाँसपात गर्ने काम गोठालाको हो ।

अहिले यही भेडा चराउने काममा निकै व्यस्त हुनुहुन्छ, म्याग्दीको रघुगंगा गाउँपालिका–५, झी गाउँका दलमान शेरपुञ्जा । विगतमा १७ वर्षको समय वैदेशिक रोजगारीको सिलसिलामा तीन वटा देशमा बिताउनुभएका उहाँले गाउँ फर्किएपछि चार वर्षदेखि भेडा पालन गर्दै आउनुभएको छ । आफ्नो बाबुबाजेले गर्दै आएको पेसा भेडा पालन व्यवसाय अरू कामभन्दा उचित लागेपछि आफूले पुनः भेडा पालन गरेको उहाँले बताउनुभयो ।

रोजगारीका लागि ५ वर्ष दुबई, १८ महिना साउदी अरब र बाँकी साढे १० वर्ष कतार बसेर फर्किनुभएका शेरपुञ्जाले हिजोआज टोड्केको वन जङ्गल क्षेत्रमा भेडा चराएर दिन बिताउनुहुन्छ । उहाँको गोठमा अहिले ६० वटा भेडाहरू छन् । उनीहरू माउ भेडा, भेडाका पाठा पाठी र साँढ रहेकोमा एउटै भेडालाई ४५ हजार रुपैयाँसम्म मूल्य पर्दछ । बिहान १०÷११ बजेतिर भेडा गोठबाट निकालेपछि दिनभरि वनमा चराएर साँझ ५÷६ तिर गोठमा ल्याउने काम शेरपुञ्जाको हो । माउ भेडालाई वन जङ्गलमा लगे पनि स–साना पाठा पाठी भने दिनभर गोठमै बस्छन् ।

भेडा पालन गरेका किसानहरूले गर्मी यामको समयमा हिमालको फेदीसम्म भेडा चराउन लैजान्छन् । अर्थात् गर्मी समय सुरु भएपछि लेकतिर र जाडो मौसममा भेडालाई बेँसीतर्फ झार्ने पुरानो चलन छ । शेरपुञ्जाले पनि अब बिस्तारै लेकमा चिसो बढ्न सुरु भएकाले बेँसीतर्फ भेडा झार्ने बताउनुभयो । उहाँले अरू भेडा पालन गरेका साथीहरूले धौलागिरि हिमालको फेदीसम्म भेडाहरू लैजाने गरेको भए पनि आफूले भने नलगेको जानकारी दिनुभयो । हिउँदमा हिमपात परेको समयमा भेडालाई छुट्टै दाना खुवाउनुपर्छ । भेडा पालक किसान शेरपुञ्जाले तोरीको पिना निकालेर त्यसमा नुन मिसाएर भेडालाई दानाको रूपमा खुवाउने गर्नुहुन्छ ।

विदेशी भूमिमा गएर अर्काको अन्डरमा काम गर्नुभन्दा स्वदेशमै भेडा चराउन पाउँदा आनन्द आउने भेडा पालक किसान शेरपुञ्जासँग अनुभव छ । उहाँले भेडा पालनबाट वार्षिक रूपमा करिब छ लाख रुपैयाँ आम्दानी गर्ने गरेको अनुभव सुनाउनुभयो । भेडा पालनबाट आएको आम्दानीले छोराछोरीलाई स्नातक तहसम्म अध्ययन गराएको, चर खर्च चलाउनेलगायत काममा खर्च गर्ने गरेको उहाँ बताउनुहुन्छ । झी गाउँको सिरानमा रहेको पर्यटकीय क्षेत्र टोड्के आसपासको वन जङ्गल क्षेत्रमा शेरपुञ्जाका भेडा चर्ने गर्छन् ।

गाउँमा ‘भाले मगर’को समेत परिचय बनाउनुभएका भेडा पालक किसान शेरपुञ्जाले विदेशमा गएर कमाएको पैसा एक पटक घरमा पठाएपछि आफू रित्तै हुने गरेको समेत खुलासा गन्नुभयो । तर यहाँ भेडा पालनबाट भने समय अनुसार नियमित आम्दानी भइरहने उहाँको भनाइ छ । उहाँले सुरुमा भेडा खरिद गरेर भेडा पालन व्यवसाय सुरु गर्नुभएको थियो भने उहाँसँग अहिले साना र ठुला गरेर ६० वटा रहेकोमा भेडाको सङ्ख्या बढाउने योजना छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.