ट्रम्प र पुटिनबीच फोनमा कुराकानी भएको भन्ने हल्ला अफबाह मात्र: क्रेमलिन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन द्वन्द्वबारे गत साता फोनमा कुराकानी भएको भन्ने अमेरिकी सञ्चारमाध्यममा आएको समाचारको क्रेमलिनले सोमबार खण्डन गरेको छ ।

ट्रम्पले बिहीबार पुटिनसँग फोनमा कुरा गरेर द्वन्द्व नभड्काउन आग्रह गरेको ‘द वासिङ्टन पोस्ट’मा उल्लेख गरिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वासिङ्टन पोस्टमा प्रकाशित समाचार ‘गलत सूचना मात्र भएको’ बताउनुभएको छ ।

‘द पोस्ट’का अनुसार ट्रम्पले उक्त फोनवार्तामा पुटिनलाई युरोपमा वासिङ्टनको ठूलो सैन्य उपस्थिति रहेको स्मरण गराउनुभएको थियो ।

ट्रम्पले युक्रेनको युद्ध चाँडै समाधान गर्ने विषयमा थप कुराकानी गर्ने इच्छा व्यक्त गरेको अमेरिकी पत्रिकासँगको कुराकानीमा धेरैले बताएका उल्लेख गरिएको छ ।

चुनाव प्रचारका क्रममा रिपब्लिकनले केही घण्टाभित्रै युद्ध अन्त्य गर्न सक्ने र पुटिनसँग सीधै कुरा गर्ने सङ्केत दिनुभएको थियो ।

ट्रम्पले आफूले कसरी शान्ति सम्झौता गर्न चाहेको र कुन शर्तमा प्रस्ताव गर्न लागेको भन्ने बारे केही बताउनुभएको छैन ।

रूसी राष्ट्रपतिले युक्रेनलाई शान्ति वार्ताको पूर्वशर्तका रूपमा आफ्नो पूर्वी र दक्षिणी क्षेत्रका भूभागहरू फिर्ता गर्न माग गर्नुभएको छ ।

‘द पोस्ट’ का अनुसार बिहीबारको फोन वार्तासँग परिचित व्यक्तिहरूले ट्रम्पले पुटिनसँग भूमिको प्रश्न छोटो समयका लागि उठाएको बताएका छन्।

ट्रम्प निर्वाचित भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई कुनै पनि प्रकारको सहुलियत दिन नहुने चेतावनी दिनुभएको थियो ।

उहाँले भन्नुभयो, “मस्कोको अन्य कुनै पनि कट्टरपन्थी मागलाई स्वीकार गर्नु वा जमिन सुम्पनुले क्रेमलिनलाई हौसला दिनेछ र थप आक्रामकता निम्त्याउनेछ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.