जमिन चिरिएपछि राजमार्गमा पहिरोको जोखिम
धादिङ- थाँक्रे गाउँपालिका वडा नम्बर-२ पृथ्वी राजमार्गमाको सिम्ले र कोइरालेको बीच भागमा जमिन चिरिएपछि राजमार्गमा पहिरोको जोखिम बढेको छ ।
पछिल्लो समय राजमार्गको स्तरोन्नति सहित पुनर्निर्माणका क्रममा यो ठाउँमा निरन्तर सुख्खा पहिरो खस्ने क्रम बढ्दै गएको छ ।
सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गको पृथ्वी राजमार्गका ठाउँ ठाउँमा जमिन चिरिएर धाँजा फाटेर सडकमा पहिरो खस्ने अवस्थामा जमिन पुगेको छ ।
यस्ता सम्भावित पहिरोलाई समयमै रोकथाम गर्नेतर्फ भने सम्बन्धित निकायले ध्यान दिइएको छैन । जसका कारण राजमार्गमा जुनसुकै बेला पहिरोले क्षति गर्न सक्ने भन्दै स्थानीय त्रसित छन् । दिनहुँ हजारौँ सवारी साधनका साथै स्थानीयहरू पैदलै यात्रा गरिरहेका हुन्छन् ।
सडक पुनर्निर्माण काम भइरहेको र यो ठाउँमा पटक-पटक सुख्खा पहिरो खसेर घण्टौँसम्म राजमार्गमा आवागमन समेत रोकिने गरेको छ । अहिले सडक भन्दा माथिको ठुलो भाग चिरिएर खस्ने अवस्थामा रहेकाले भोलिका दिनमा कुनै दुःखद घटना हुनु अघि नै पहिरोको व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्