प्रभावितहरु डेढ महिनादेखि जोखिमयुक्त बस्तीमा

काभ्रे- बाढी पहिरोले क्षति पुर्‍याएको डेढ महिनाभन्दा बढि भइसक्यो । प्रभावितहरु अझै पनि जोखिम मोलेरै जोखिमयुक्त बस्तीमा बसिरहेका छन् । काभ्रेको पनौती नगरपालिका वडा नं २ स्थित नयाँ गाउँमा पहिरो प्रभावितहरु बास स्थानको व्यवस्थापन हुन नसक्दा जोखिमयुक्त बस्तीमा बसिरहेका हुन् ।

स्थानीय इन्द्रप्रसाद आचार्य डेढ महिनादेखि पहिरोको जोखिम मोलेरै परिवारसहित बसिरहेका छन् । सुरक्षित स्थानमा बासस्थान बनाउनको लागि आफूसँग जग्गा र पैसा नभएकाले पहिरोको जोखिम भएपनि बस्दै आएको बताउनुभयो । सरकारले आफूहरुको लागि केही व्यवस्थापन गरिदिए केही सहज हुने उहाँको भनाई थियो ।

त्यस्तै अर्का प्रभावित विष्णु बहादुर तामाङको पनि समस्या पनि उस्तै छ । गाउँ छाडेर जान सक्ने स्थिती नभएकाले आफू जोखिम भएपनि उक्त घरमा बस्दै आएको उहाँले बताउनुभयो ।

घर अगाडीको पहिरोको जोखिम भएकाले त्रासका साथ बसिरहेका उहाँको भनाई छ । नयाँ घर बनाउनको लागि जग्गा र पैसा नभएकाले आफूले कुनै योजना नबनाएको उहाँले बताउनुभयो । उहाँका अनुसार, सरकारले थोरै मात्र सहयोग गरेपनि पर्खाल लगाउने तथा यसै घरको मर्मत गरेर सुरक्षित भएर बस्न मिल्थ्यो ।

बाढी पहिरो प्रभावित क्षेत्रमा जोखिमयुक्त बस्तीको अध्ययन गर्न राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास तथा भवन कार्यालयलाई अनुरोध गरेको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो । केन्दीय निकायलाई अनुरोध गरिएको यसका लागि प्रक्रियाको तयारी भइरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.