चीनसँगको बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौंः गगन थापा

काठमाडौँ – सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरूले चीनसँग विगतमा गरिएको सम्झौताहरू कार्यान्वयनमा हुनुपर्ने कुरामा जोड दिएको बताउनुभएको छ ।

महामन्त्री थापाले बीआरआई सम्झौता कार्यान्वयन अघि चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आफूहरूको चाहना रहेको प्रस्ट्याउनुभएको हो । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले चीनसँग सम्झौता गरिएको बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्नुअघि विगतमा भएका सहमति अनुदान सहायतामार्फत सम्पन्न हुनुपर्ने आफूहरूको अडान रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सो सम्बन्धमा एमालेसँग मतभिन्नता भएको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढ्न आफूहरू सक्षम रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले हामी बाहिर व्यापक चर्चा सुनिरहेका छौँ । केही समय पछि प्रधानमन्त्रीको चीन भ्रमण हुँदै छ । यो विषयलाई लिएर नेपाली काँग्रेस, नेकपा एमाले बिचमा व्यापक रूपमा असहमति छ, व्यापक रूपमा मतभिन्नता छ । साथीहरू हुनुहुन्छ ए ढल्यो ढल्यो भनेर लेखिदिनु हुन्छ । सरकारमा बसिरहेको मान्छेलाई पनि एक ढल्ने हो कि भन्ने लागेको पाउँछु म । तर मलाई लाग्छ–हामीले यो क्षमता राख्न सक्नुपर्छ । हामीले संविधान बनाउने क्षमता राख्न सक्यौँ भने यस्ता विषयहरूमा पनि हाम्रा कतिपय विषयहरूमा भिन्न एप्रोचहरु छन् भने पनि यसलाई साझा बनाउने क्षमता हामीले राख्नुपर्दछ । हाम्रा केही कुराहरू साझा छन् । नेपालले अर्को देशसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा संविधानले नै व्यवस्था गरेको छ । हाम्रा पार्टीका नीतिहरूले हामीलाई बाँधेको छ । राष्ट्रिय हितका विषयमा हामी लामो विरासत बोकेर आएका दलहरू हौँ । हाम्रा आफ्ना सीमाहरू छन् । तर हामी यो पनि मान्दछौँ कि हाम्रा प्राथमिकताहरू फरक हुन सक्दछन् । नेपाली काँग्रेस पार्टी नेपालको स्वतन्त्रता, नेपालको अविभाज्ययता, नेपालको सार्वभौमिकता तमाम कुराहरूका सन्दर्भमा अन्कम्पमाईजिङ यस्तो आफ्नो स्टयाण्ड सदा रहँदै आयो । त्यसमा हामीलाई कसैले भन्नु पनि परेन । हामीले यसलाई प्रमाणित गर्नु पनि पर्दैन । हामी सबै देशसँग समान सम्बन्ध राख्न चाहन्छौँ । हामी यो पनि प्रस्ट छौ–कुनै पनि देशको सैन्य गठबन्धनमा नेपालको हित छैन ।  हामी नेपालमा अपार पुँजी लिएर आउन चाहन्छौँ । हाम्रो विकासका लागि हाम्रो यति धेर आकाङ्क्षा छ कि धेरै स्रोत, साधन चाहिएको छ । हामी ल्याउन चाहन्छौँ । तर आजको हाम्रो राष्ट्रिय क्षमतासँग म्याच गर्नुपर्दछ भन्ने हामी ठान्दछौँ । हामीसँग आज कति पुँजी परिचालन गर्ने क्षमता छ ? हामी सबै छिमेकीहरूसँग यो बेलामा सहकार्य गर्न चाहन्छौ । हाम्रा ठूला ठूला विकासका परियोजनाहरू छन् । त्यसमा साझेदारी गर्न चाहन्छौँ । हामी उनीहरूबाट अनुदानबाट हामी हाम्रा विकासका आकाङ्क्षाहरूलाई पूरा गर्न चाहन्छौँ । यी हाम्रा प्राथमिकताहरू छन् । हामी यसभन्दा अघि भएका सबै सम्झौता कार्यान्वयन हुन पहिला । त्यसपछि हामी नयाँ कुराको बारेमा सोचौँ भन्ने कुराको बारेमा सोच्दछौँ । हामी यो भनिरहँदै गर्दा हामीसँग सहकार्य गरेर दलसँग केही सोच फरक छन् भन्ने पनि मान्दछौँ । हामीले त्यो क्षमता राख्नुपर्दछ कि हामीसँगै बसेर एउटा धारणा बनाउनुपर्दछ भन्ने मान्दछौँ । यो आगामी दिनमा हुँदै जाने छलफलहरू हो । यो एउटा पाटो हो, हामी गर्छौ । यो हामी सम्हाल्छौँ ।’ 

महामन्त्री थापाले सो परियोजनालाई अघि बढाउने विषयमा एमालेसँग साझा धारणा बढाएर अघि बढ्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.