क्यानडाको टोरोन्टो क्षेत्रमा तेस्रो घुम्ती सेवा
२ दिने घुम्ती सेवामा करिब ४ सय जनाले राहदानी र कन्सुलर सेवा प्राप्त गरे
टोरोन्टो – क्यानडाको ओट्टावास्थित नेपाली दूतावासले सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न घुम्ती कन्सुलर राहदानी सेवा सञ्चालन गरेको छ ।
यस क्रममा टोरोन्टोमा सञ्चालित २ दिने घुम्ती सेवामा करिब ४ सय जनाले राहदानी र कन्सुलर सेवा प्राप्त गरेका छन् ।
नेपालीहरूको उल्लेख्य बसोबास रहेका क्यानडाको विभिन्न सहरमा सहज सेवा पुर्याउने नेपाली दूतावासको प्रयास अन्तर्गत घुम्ती सेवा सञ्चालन गरिएको क्यानडाका लागि नेपालका राजदूत भरतराज पौडेलले जानकारी दिनुभयो ।
राजदूत पौडेलका अनुसार ठुलो भूगोल रहेको क्यानडाको विभिन्न भागमा रहेका नेपाली डायस्पोराले घुम्ती सेवाबाट प्रभावकारी र सहज सेवा प्राप्त गरेका छन् । नेपाली दूतावासले धेरै नेपाली सेवाग्राही रहेका टोरोन्टो क्षेत्रमा यसै वर्ष सञ्चालन गरेको यो तेस्रो घुम्ती सेवा हो ।
यसका साथै नेपाली दूतावासले एडमण्टन, भ्याङकुभर, हलिफ्याक्स र कालग्यारीमा पनि बितेको ६ महिनामा घुम्ती सेवा सञ्चालन गरिसकेको ओट्टावास्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
क्यानडास्थित नेपाली दूतावासले नेपालीहरूको उल्लेख्य सङ्ख्या रहेका अन्य सहरहरूमा पनि घुम्ती सेवा सञ्चालनको तयारी गरेको जनाएको छ ।
टोरोन्टोस्थित नेपालको मानार्थ कन्सुलेट, गैह्र आवासीय नेपाली सङ्घ र एन सिसी क्यानडाको सहयोगमा टोरोन्टोमा कन्सुलर राहदानी घुम्ती सेवा सञ्चालन गरिएको हो ।।
प्रतिक्रिया राख्नुहोस्