अग्यौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गण्डकी प्रदेशकै उत्कृष्ट घोषित

पूर्वी नवलपरासी – पूर्वी नवलपरासीको अग्यौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गण्डकी प्रदेशकै उत्कृष्ट घोषित भएको छ । कावासोती नगरपालिका १६ डण्डामा रहेको संस्थालाई खानेपानी तथा ढल व्यवस्थापन विभागले आफ्नो ५३ औँ स्थापना दिवसका अवसरमा सम्मानित गरेको हो ।
३ हजार उपभोक्ता रहेको संस्थामा न्यूनतम युनिट ९५ सम्म पूर्णरुपमा निःशुल्क वितरण गरेको, २४ सैं घण्टा डबल फिल्टर गरिएको पानी वितरण गरेको, पाँच युनिटभन्दा कम पानी उपभोग गर्ने ६ सय घरधुरीका उपभोक्तालाई न्यूनतम महसुल निःशुल्क गरेको, धारा जडान गर्न नसक्नेहरूका लागि समूह बनाएर निःशुल्क मिटर जडान गरिदिने गरेको कार्यवाहक अध्यक्ष श्रीपाईलीले जानकारी दिनुभयो ।
त्यस्तै जुनसुकै उपभोक्ताको मृत्यु भए पनि २५ हजार नगद र श्रद्धाञ्जली पत्र हस्तान्तरण गर्ने, महिलाको नाममा धारा जडान गर्न आउने उपभोक्तालाई १५ प्रतिशत छुट गरिएको संस्थाले जनाएको छ । संस्थाले कावासोती नगरपालिका वडा नम्बर १४,१५,१६ र १७ मा पानी वितरण गर्दै आएको छ ।






प्रतिक्रिया राख्नुहोस्