म्याग्दीको टोड्केमा परम्परागत मुला खेती (फोटो फिचर)

म्याग्दी– म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन हुँदै आएको मुला स्थानीयको पहिचान बन्दै जान थालेको छ । हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइको कारणले गर्दा स्थानीय जातको मुलाले नै टोड्केको पहिचान बनाउँदै गएको हो ।

 

पर्यटकीय क्षेत्र टोड्के मुला खेतीका लागि निकै प्रसिद्ध मानिन्छ । जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा अवस्थित टोड्केमा परम्परागत रुपमा स्थानीय जातको मुला लगाउने गरिएको छ । पछिल्लो समय टोड्के पर्यटकीय गन्तव्य बन्दै जान थालेपछि मुला खेतीले पनि आकर्षण थपेको छ । टोड्केका स्थानीयले अहिलेसम्म परम्परागत मुला खेतीलाई निरन्तरता दिएका छन् ।


धौलागिरि क्षेत्रमै मुला खेतीमा प्रख्यात मानिने म्याग्दीको टोड्केमा स्थानीयवासिन्दाले स्थानीय जातको सेतो र रातो रङको मुला लगाउँदै आएको बताएका छन् ।

उनीहरुले आफ्ना बाबुबाजेको पालादेखि विभिन्न ठाउँबाट मुलाको बिऊबिजन लिएर लगाउँदै आएको मुला खेतीलाई अहिले पनि निरन्तरता दिएका हुन् । टोड्केमा उत्पादित मुलाले स्थानीय पहिचान बनाउनुका साथै पर्यटकका लागि समेत कोसेली बनेको छ ।

टोड्केमा पछिल्लोपटक पर्यटकलक्षित रिसोर्ट सञ्चालनमा आएपछि मुला खेतीको विस्तार भएको छ ।कुल ५ घरधुरी बसोबास रहेको टोड्केमा स्थानीय रातो र सेतो जातको मुला उत्पादन हुँदै आएको छ भने टोड्केवासीले मुला, आलु, फापरको खेती गर्दछन् । स्थानीयले मुला, आलु, र फापरको साथमा भेडापालन गर्दै आएका छन् । आफ्ना बाउबाजेको पालादेखि लगाउँदै आएको मुला खेतीलाई अहिले पनि आफूहरुले निरन्तरता दिएको टोड्केकी महिला उद्यमी तीजमाया पाईजाले जानकारी दिनुभयो ।

उहाँका अनुसार टोड्केका स्थानीयले परम्परागत मुला खेतीलाई नै निरन्तरता दिएका छन् भने यहाँको मुला खेतीमा बजारको बिऊ र विषादी प्रयोग हुँदैन ।समुन्द्री सतहदेखि करिब २ हजार ५ सय मिटरको उचाइमा रहेको टोड्केमा मुलासँगै आलु र फापरको पनि खेती हुँदै आएको छ । मंगला–१, कुहुँको टोड्के र रघुगंगा–५, झीँ टोड्केका स्थानीय मुला खेतीमा सक्रिय छन् ।

गाईभैंसी र भेडाको मल हालेर उत्पादन गरिने हुँदा टोड्केको लोकल मुला खोज्दै ग्राहकहरु किन्न आउने गरेको महिला उद्यमी पाईजाले अनुभव सुनाउनुभयो । हिउँद र वर्षे सिजनमा गरेर वर्षमा दुई पटकसम्म मुला खेती गर्न सकिन्छ । तर टोड्केमा एकै सिजनमा उत्पादित मुला वर्ष दिनसम्म खान पुग्छ ।


टोड्केमा मुला किन्न आउनेलाई बारीमै ठूलो मुलालाई एकसय र सानोलाई ५० रुपैयाँको दरले गोटाअनुसार बिक्री गर्ने गरिएको छ । टोड्केका स्थानीयले मुलाबाट धजरा, चाना, सिन्की (गुन्द्रुक) बनाएर राख्ने गर्दछन् । मुलालाई साँझ–बिहान भान्सामा चट्नी, तरकारी, अचार र सलाद जस्ता परिकारमा रुपान्तरण गरेर पनि प्रयोग गर्ने गरिन्छ । टोड्केमा पुग्ने पाहुना तथा पर्यटकहरुलाई स्थानीयवासीले मुलाबाट बनाएको परिकारहरु अचार, मुलाको चाना, धजरा, सिन्कीलगायत उपहार अर्थात् कोसेलीको रुपमा दिने गर्दछन् ।

म्याग्दी सदरमुकाम बेनीदेखि करिब २० किलोमिटर कच्ची सडकबाट पुग्न सकिने टोड्के क्षेत्र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण गन्तव्यको रुपमा चिनिन्छ । टोड्केबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालसहित निलगिरी, अन्नपूर्ण, माछापुच्छे«का साथै विभिन्न हिमश्रृङ्खला, एकाबिहानैको सुर्योदय, गुराँसे जङ्गल र मनोरम तथा रमणीय दृश्यहरुको अवलोकन गर्न पाइन्छ ।

टोड्केमा मनोरम दृश्यावलोकन गर्न पाइनुका साथै मुला, आलु, फापर, हलहले, ढकायोलगायत स्थानीय उत्पादनको स्वाद चाख्न पाउनु यहाँको थप विशेषता हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.