नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नयाँ भवनको शिलान्यास
भक्तपुर – मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले शिलान्यास गर्नु भएको छ ।
दक्षिण कोरिया सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न हुने उक्त भवनको आज शिलान्यास गर्नु हुँदै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मित्र राष्ट्रको सहयोगमा निर्माण सम्पन्न अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेको प्रति प्रशंसा गर्दै अब बन्ने नयाँ भवनले थप नेपाल र कोरियाबिचको मित्रता बलियो बन्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । नागरिकलाई सुलभ सेवा दिन अस्पताललाई निर्देशनसमेत दिनु भयो ।
नयाँ भवनका निर्माणका लागि कोरियन सरकारबाट नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल विस्तारका लागि ९.५ मिलियन अमेरिकी डलर अर्थात् एक अर्ब २८ करोड रुपैयाँ सहयोग प्राप्त भएको हो।
कोईकाबाट उक्त सहयोग प्राप्त भएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनु भयो । नगरपालिका अस्पतालको विस्तार र सुविधा सम्पन्न बनाउन कोईकाले यस भन्दा पहिले पनि ८.५ मिलियन अमेरिकी डलर सहयोग भएको थियो ।
कोईकाको सहयोग रकमले अस्पताल विकास, विस्तार र विकटका नागरिकको स्वास्थ्य उपचारमा टेवा पुग्ने विश्वास नगरपालिकाले लिइएको छ । भक्तपुर, काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोक रेफरल अस्पतालको रूपमा मध्यपुर थिमि नेपाल–किरिया मैत्री नगरपालिका अस्पतालको नयाँ भवन बन्ने सुविधा सम्पन्न अस्पतालले सहज स्वास्थ्य सेवा दिने नगर उपप्रमुख विजय श्रेष्ठले बताउनु भयो ।
यो दोस्रो चरणको सुविधा सम्पन्न निर्माणले नेपाल र कोरियाबिचको सम्बन्ध अझ प्रगाढ बन्ने नेपालका लागि दक्षिण कोरियाका राजदूत ताईयोङ्ग पार्कले बताउनु भयो । सुलभ उपचार सेवा प्राप्त हुनेमा विश्वस्त रहेको कोइकाका नेपाल स्थित कन्ट्री डाइरेक्टर मुहेन कोङ्गले बताउनु भयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य, दुर्लभ थापालगायत विभिन्न राजनैतिक दलका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अस्पताल भवनको उत्कृष्ट डिजाइन गर्ने जेके एसोसियटसलाई उप प्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहद्वारा प्रशंसा पत्र वितरण गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्