मकवानपुरबाट स्रोत नखुलेको रकम बरामद
मकवानपुर – मकवानपुर प्रहरीले स्रोत नखुलेको अवैध रकम कारोबारको आरोपमा ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा .प्र .०३–००१ ज ०७६५ नम्बरको ई भी माइक्रो हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलस्थित चेक प्वाइन्टमा चेक गर्ने क्रममा नेपाली ६२ लाख रुपैयाँ बारबारको विदेशी मुद्रा सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले भारत उत्तर प्रदेश जालौनका ४० वर्षीय विजय सिंह कुशवाहको साथबाट १२ हजार अमेरिकी डलर, भारत उत्तर प्रदेश जिल्ला गोरखपुरका २६ वर्षीय प्रशान्त पाठकको साथबाट १४ हजार युरो र भारत राजस्थान चितोरगढका ३२ वर्षीय राहुलकुमार माण्डावतको साथबाट २० हजार अमेरिकी डलर बरामद गरेको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खडकाले जानकारी दिनुभयो ।
सोमबारको बजार भाउ अनुसार रूपान्तरण गर्दा नेपाली ६२ लाख ९० हजार ३५रुपैयाँ हुने प्रहरीले जनाएको छ । विदेशी मुद्रासहित पक्राउ परेका तीन जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय मिन भवन ललितपुर पठाउने तयारी भइरहेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्