३ वर्ष पुरा हुँदा पनि २ किलोमिटर सडक बनेन
पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको सरावल गाँउपालिकाको केन्द्र जोड्ने पहुँचमार्गको निर्माण पुरा हुन नसक्दा यात्रुलाई समस्या भएको छ ।
परासी-नारायणचोक हुलाकी सडक खण्डको भिडटाँडीदेखि सरावल गाँउपालिकाको केन्द्रसम्म पुग्ने जम्मा २१ सय मिटर लामो सडकको काम साढे तीन वर्ष हुँदा पनि पुरा भएको छैन ।
लुम्बिनी प्रदेश सरकारको लगानीमा विक्रम संवत् २०७८ सालको बैशाखमा ठेक्का सम्झौता भएको उक्त सडक सोही वर्षको चैत्र मसान्त भित्र निर्माण सक्नुपर्ने थियो । तर सडक निर्माणको जिम्मा पाएको नविन कन्स्ट्रक्सन नवलपरासीले उक्त सडक निर्माणमा लापरवाही गरेपछि बजेट रकम फ्रिज भएको सरावल गाँउपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभयो ।
६० प्रतिशत काम पुरा गरेको ठेकेदारललाई, कुल बजेट ३ करोड ७ लाख मध्ये १ करोड ६३ लाख भुक्तानी भइसकेको छ ।
जीर्ण सडकमा अहिले धुलोले गर्दा यात्रा गर्न कठिन हुने गरेको छ भने सडक छेउका स्थानीयले समेत सास्ती भोगिरहेका छन ।
ठेकेदारको लापरवाहीले काम पुरा नभएकाले यस वर्ष काम सक्ने गरी पुनः बजेट विनियोजन गरिएको लुम्बिनी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयका प्राविधिक सन्तोष चौधरीले जानकारी दिनुभयो ।
अहिले हुलाकी सडकमा पनि पुल निर्माणको चरणमा रहेकाले धेरै सवारी साधन गाँउपालिकाको केन्द्र हुँदै आउजाउ गर्दा यात्रु र सडक छेउका बासिन्दा धुलोको मारमा परेका छन् ।।
प्रतिक्रिया राख्नुहोस्