कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज काठमाडौँ ल्याइँदै

काठमाडौँ – सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ ।

पोखराको सूर्य दर्शन सहकारीसँग सम्बन्धित बयान सकिएकाले काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयान लिन उनलाई काठमाडौँ ल्याउन लागिएको हो ।

उहाँलाई जहाजबाट काठमाडौँ ल्याउने तयारी छ । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले यही मङ्सिर २ मा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।

बयान सकिएपछि  लामिछानेलाई पुनः कास्की नै लगिने छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रुपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो । लामिछाने लगायत विरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौँ प्रहरीले स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ । गोर्खा मिडिया नेटवर्कमा लामिछाने प्रबन्ध निर्देशक र छविलाल जोशी उपाध्यक्ष रहेका बेला स्वर्णलक्ष्मी सहकारीको रकम लगेर अपचलन गरेको प्रकरणमा काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको हो । उक्त सहकारी ठगीमा लामिछाने र जोशीको पनि संलग्नता भेटिएपछि अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.