उत्तरी गोरखाको फिलिमबाट महिलाको उद्धार
गोरखा-उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ३ फिलिमबाट एक सुस्तमनस्थिति भएकी महिलाको उद्धार गरिएको छ ।
आफ्नो नामसमेत भन्न नसक्ने उक्त महिलाको मंसिर ३ गते फिलिमबाट उद्धार गरी काठमाडौँ रानीवनस्थित मानवसेवा आश्रममा लगिएको वडा नं. १ का वडाध्यक्ष कर्मा छेवाङ लामाले बताए । विगत ८ वर्षदेखि चुमनुब्री गाउँपालिकाको विभिन्न ठाउँहरुमा वेवारिशे अवस्थामा बसोबास गर्दै आएकी ती महिलालाई उद्दार गरिएको हो ।
‘गाउँपालिका भित्र देखिन थालेको झण्डै ७,८ वर्ष जति नै भयो, घरी सामागाउँ तिर, घरी छेकम्पारतिर गरेर डुली हिड्थिइन्,’ उनले भने, ‘दुई वर्ष जति भयो फिलिम आसपास भौतारिँदै बसोबास गरेर बस्न थालेको ।’
सुस्तमनस्थितिको भएकीले नाम ठेगाना सोध्दा पनि फरक-फरक भन्ने गरेको वडाध्यक्ष लामाले बताए । चिसो ठाउँ भनेर लगाउनलाई लत्ता कपडा दिएता पनि फालेर हिड्ने गरेको उनले जानकारी दिए ।
वडाध्यक्ष लामाले आफै पहल गरेर उनलाई उद्धार गरेर आश्रम पुर्याएका हुन् । लामाले ती महिलासहितको फोटो सामाजिक सञ्जालमा पहिचानको लागि पोष्ट गरेका छन् ।
कसैले चिनेको भए सम्पर्कमा आउन पनि उनले आग्रह गरेका छन् ।।
प्रतिक्रिया राख्नुहोस्