स्थानीय तह उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि

काठमाडौँ – आइतबार हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ ।

निर्वाचन आयोगले मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने जाएको छ ।

मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन ।

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ घण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ । यस अवधिको पालना भए नभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ ।

आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदै छ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक/एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।

मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् । पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जना छन् ।

४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुनेछ । ओखलढुङ्गा जिल्ला समन्वय समिति प्रमुखमा काँग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा काङ्ग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् ।

यसै गरी रुकुम पूर्वको पुथा उत्तर गङ्गा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.