झोलुङ्गे पुलको मर्मत कार्य रोकिएपछि आवतजावतमा समस्या

धादिङ- आवश्यक रकम अभावका कारण मर्मत सुरु भएको धादिङको चरौँदीस्थित धावडी घाटको झोलुङ्गे पुलको काम बीचैमा रोकिएको छ ।

त्रिशूली नदी वारपार गर्नका लागी बेनी घाट रोराङ्ग गाउँपालिका र गोर्खाको गण्डकी गाउँपालिका स्थित धवाडी घाटको झोलुङ्गे पुल त्रिशूली नदीमा आएको बाढीले पूर्ण क्षति पुर्‍याएपछि सो पुल गत महिनादेखि मर्मत गर्न सुरु गरिएको हो ।

गत असोज महिनामा तिन दिनसम्म परेको अविरल वर्षासँगै त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोर्खा जिल्लालाई जोड्ने चरौँदी स्थित त्रिशूली नदी तर्ने धवाडी घाटको पुल पूर्ण रूपमा क्षति पुर्‍याएको थियो ।

बाढीले पुल पूर्ण रूपमा क्षति पुर्‍याएपछि विशेष गरी गोर्खाको गण्डकी गाउँपालिका स्थित वडा नम्बर ७ का करिब चार हजार पाँच सय घर धुरीका स्थानीयलाई आवत जावतमै निकै समस्या भएको छ ।

तरकारी उत्पादनको पकेट क्षेत्रको रूपमा मानिएको गोर्खाको सो क्षेत्रका स्थानीयलाई आफ्ना कृषि उपज बिक्रीका लागि पनि धादिङको चरौँदी बजारसम्म ल्याउन पनि निकै असहज भएको भनाइ छ ।

बाढीले पुल पूर्णरुपमा बिगारेका करिब तीन महिना पुग्दासमेत सरोकारवाला निकायले पुलको पूर्ण मर्मतमा चासो नदेखाएको र रकम अभावका कारण पुलको बाँकी काम गर्न नसक्ने जानकारी दिइसकेको स्थानीयको भनाइ छ ।

क्षतिग्रस्त पुलको दुवैतर्फको लट्ठा सोझो बनाएर सामान्य हिँडडुल गर्न मिल्ने बनाएको भएपनि बालबालिकाहरूलाई आवत जावत गर्न र सरसामान ओसार पसारमा भने निकै समस्या भएको स्थानीयको दुखेसो छ ।

पुलको आधा भागमा मात्रै मानिस हिँड्न डेक राखिएको छ भने पुलको बारका लागि समेत तार जाली अपुग भएका कारण समस्या आएको छ ।

मानिसहरू जोखिम मोलेर आवत जावत गर्न बाध्य छन्। पुलको पुरै भागमा डेक नभएका कारण वारपार गर्दा झर्ने डर पनि छ । 

धावडी घाटको सो पुल मर्मतका लागि नेपाल सरकार अन्तरगत झोलुङ्गे पुल महाशाखाले दश लाख रुपैँयाको व्यवस्था गरेपछि पुलको मर्मत कार्य सुरु भएको थियो । 

पुल मर्मत गर्दा गर्दै सो रकम अपुग भएपछि बाँकी रकम कसले बेहोर्ने भन्ने दुविधाका कारण काम रोकिएको स्थानीयको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.