म्याग्दीको माटोमा नाइट्रोजनको मात्रा न्यून भेटियो
म्याग्दी– म्याग्दीका खेतबारीको माटोमा नाइट्रोजनको मात्रा न्यून रहेको पाइएको छ ।
खेतबारीमा खाद्यतत्वको अवस्था पत्ता लगाउन र खाद्यान्न बालीको उत्पादन बढाउनको लागि गरिएको माटोको नमुना परीक्षणको क्रममा नाइट्रोजनको मात्रा न्यून रहेको भेटिएको हो ।
कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना र रघुगंगा गाउँपालिकाको कृषि शाखाको सहजीकरणमा माटोको नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो ।
रघुगंगा–३, पिप्लेमा आयोजित निःशुल्क माटो परीक्षण शिविरमा ७० वटा माटोको नमुना सङ्कलन गरी परीक्षण गरिएकोमा त्यहाँको अधिकांश माटोमा नाइट्रोजनको मात्रा निकै कम रहेको पाइएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
माटोमा नाइट्रोजन, फस्फोरस र पोटासियमको मात्रा तथा माटोको पिएच अवस्था अर्थात् अम्लीयपन, तटस्थ र क्षरीय भए, नभएको अवस्था पत्ता लगाउन माटोको नमुना परीक्षण गरिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताउनुभयो । खास गरी खेतबारीमा खाद्यतत्वको अवस्था र माटोमा अम्लीयपन, तटस्थ र क्षरीयपनको मात्रा पत्ता लगाउने उद्देश्यले माटो परीक्षण शिविर आयोजना गरिएको उहाँले बताउनुभयो ।
रघुगंगामा विभिन्न ठाउँको ७० वटा माटोको नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो ।
परीक्षणको क्रममा अधिकांश ठाउँको माटोमा हल्का अम्लीयपन र तटस्थको मात्रा पाइएको कृषि ज्ञान केन्द्र म्याग्दीको सूचना अधिकारी समेत रहनुभएकी कृषि प्रसार अधिकृत लामिछानेले जानकारी दिनुभयो । माटोको नमुना परीक्षणको क्रममा माटोमा नाइट्रोजनको मात्रा न्यून रहेको पाइएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार स्थानीय तहहरूमा कृषि शिविर सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत रघुगंगामा निःशुल्क माटोको परीक्षण शिविर गरिएको हो । जिल्लाको अन्य पालिकामा पनि माटो परीक्षण शिविर आयोजना गरिने जनाइएको छ ।
शिविरमा माटोको उर्वराशक्तिलाई कायम राखेर कृषिजन्य उत्पादन वृद्धि गर्न आवश्यकताअनुसार रासायनिक मलको प्रयोग, मौसम अनुकूलका बालीनालीहरू तथा खाद्यान्न बाली लगाउने विधिको बारेमा समेत किसानहरूलाई सहजीकरण गरिएको थियो । उक्त शिविरमा रघुगंगाको विभिन्न क्षेत्रबाट किसानहरूले नमुना परीक्षण गर्नको लागि माटो ल्याएका थिए ।
शिविरमा कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत लामिछानेसहित रघुगंगा गाउँपालिकाको कृषि शाखा प्रमुख दीपक राज जोशी, कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक श्याम सरन कुर्मीलगायत प्राविधिकहरूको टोलीले माटोको अवस्थाबारे नमुना परीक्षण गरी सुझाव दिएको थियो । शिविरमा माटोको वास्तविक अवस्था के छ, कुन ठाउँको माटोमा कस्तो उर्वराशक्ति रहेछ र गोठे मल तथा रासायनिक मलको प्रयोगका बारेमा पनि किसानहरूलाई जानकारी गराइएको छ ।
निःशुल्क माटो परीक्षण शिविर कार्यक्रमले आफूहरूलाई ठुलो राहत मिलेको किसानहरूले बताएका छन् भने उनीहरूले माटोको नमुना परीक्षणका साथै उर्वराशक्तिको बारेमा समेत जानकारी हासिल गरेका थिए । म्याग्दीमा माटो सुहाउँदो उत्पादनको अभावले लगानी अनुसारको प्रतिफल प्राप्त नभएको अवस्थामा माटो परीक्षण शिविरसहित सचेतनामूलक सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने किसानहरूको माग छ ।
माटोको उर्वराशक्ति कायम राख्नको लागि खाद्यतत्वको अवस्थाअनुसार रासायनिक मलको समेत प्रयोग गरी बालीनालीको उत्पादन बढाउनुपर्दछ । तर रासायनिक मलको तुलनामा कम्पोस्ट (गोठे) मलको प्रयोग खाद्यान्न बालीका लागि बढी उपयोगी हुने कृषि प्राविधिकहरू बताउँछन् । कृषि बालीलाई आवश्यक पर्ने विभिन्न १६ वटा खाद्यतत्वहरु रहेकोमा नाइट्रोजन, फस्फोरस र पोटासियमको प्रयोग बढाउनुपर्छ ।
प्रतिक्रिया राख्नुहोस्