बुद्धका शिक्षाको प्रचारक र अनुयायी हुन प्रधानमन्त्रीको आग्रह

रुपनदेही –  प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मस्थलका साथसाथै बुद्ध दर्शनको केन्द्र भएको बताउनु भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्ध जन्मस्थानको मुहानबाट बुद्धका सन्देशलाई बिश्वमाझ फैलाउनु पर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले बुद्धका दर्शनलाई शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सबै सुखी होउन् भन्ने बुद्धका सन्देशको अर्को रुप नै आफूहरुले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा भएकाले यसलाई पूरा गर्न सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।

अभिभावको लगानी, माया र मेहनतबाट दीक्षित हुने अवस्थासम्मको सफलता प्राप्त गरेकामा अभिभावक र विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले बुद्ध दर्शन, आचरण र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओेलीले बुद्व जन्मिएको स्थानमा ध्यान अनिवार्य भएकाले लुम्बिनीमा ५ हजार जना अट्ने अन्तर्राष्ट्रिय सभाहल निर्माण गरिएको समेत उल्लेख गर्नुभयो । हल निर्माणपछि अन्तर्राष्ट्रिय स्तरका ध्यान र सम्मेलन आयोजना गर्न सम्भव भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले बुद्व दर्शनको मुहानमा हामी रहेकाले यसको विस्तारमा विश्व विद्यालय केन्द्रित हुनुपर्ने बताउदै बुद्वका शिक्षा पालनामा जोड दिनुभयो । उहाँले बुद्व दर्शनको सारतत्व सत्य भएकाले सत्यको पालनामा जोड दिनुभयो ।

कुलपतिको हैसियतले विश्व विद्यालयले प्रदान गर्ने उपाधि हस्तान्तरण गर्न पाएकोमा खुसी लागेको उहाँको भनाई छ ।

समारोहमा कुलपति ओलीबाट भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधिप्राप्त दुई सय ८९ जना दीक्षित हुनुभएको छ । बौद्व धर्म प्रचारक धम्मावती गुरुमालाई पहिलो मानार्थ विद्यावारिधी उपाधि प्रदान गरिएको हो ।

प्रधानमन्त्री ओलीले जीवनमा कसैको कुभलो नचिताउने तथा सँधै सकारात्मक चिन्तन र व्यवहार प्रदर्शन गर्नुहुने गुरुमाले मानार्थ विद्यावारिधिको सम्मान स्वीकार गरेर विश्वविद्यालयलाई थप सुपरिचित गराउनुभएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.