पाशुपत क्षेत्रमा भक्तजनहरुको भीड
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बत्ती बाल्न पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ ।
आज बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको मोक्षको कामना गर्दै सतबीज छर्छन ।
आज रातभर दीपदान गरी बसेका भक्तजनले भोलि बिहानै पितृको सम्झनामा शतबीज छर्ने गर्दछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् ।
जाडो मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँले बालाचतुर्दशी पर्वको सुरक्षालाई ध्यानमा राखेर तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा, नशालु पदार्थको उत्पादन, बिक्री तथा सेवनमा निषेध गरेको छ ।
यसैबीच प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसीका दिन पशुपतिनाथमा प्रदर्शन गरिने नाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष आज बिहान देखाइएको छ ।
गत एक वर्षसम्म पशुपतिनाथ मन्दिरको माथिल्लो तलामा यी सामग्री सुरक्षित राखिएको भनी आज देखाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।
मार्ग शीर्ष कृष्ण औँसीका अवसरमा यही मङ्सिर १६ गते बिहान पनि अर्को वर्षका लागि सुरक्षित राखिँदै छ भनी आममानिसलाई देखाउने परम्पराअनुसार यो देखाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
पशुपति क्षेत्रमा पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष हेर्न हजारौँ भक्तजनको घुइँचो लागेको थियो ।।
प्रतिक्रिया राख्नुहोस्