कोशीमा यात्रुवहाक सवारीका लागि ‘टाइम कार्ड’ सुरु

सुनसरी- पछिल्लो सयम कोशी प्रदेशमा दिनहुँजसो एक जनाले ज्यान गुमाएको घटना सार्वजनिक हुन थालेको छ । त्यस्तै घटनामा दैनिक एक दर्जन बढी घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
सवारी साधनहरुको तिव्र गतिका कारण दुर्घटना बढ्न थालेपछि शनिवारदेखि कोशी प्रदेशको तराइ जिल्लाका झापा, मोरङ्ग, सुनसरीमा टाइम कार्ड लागु गरिएको छ ।
तीव्र गति रोक्न, चालकलाई जिम्मेवार र सचेत बनाउन ‘टाइम कार्ड’ प्रणाली लागू गरेको कोशी प्रदेशका प्रहरी नायव महानिरिक्षक चन्द्र कुवेर खापुङ्गले बताउनु भयो ।
पूर्वको काँकडभिट्टादेखि सुनसरीको कोशी ब्यारेजसम्म र विराटनगरदेखि धरानसम्म ३९ स्थानमा टाइम कार्ड चेक जाँच गरिने छ ।
यो नियम लागू भएपछि विराटनगर बसपार्कदेखि इटहरी बसपार्कसम्मको २४ किलोमिटर दूरीका लागि ४५ मिनेटको समयावधि तोकिएको छ । इटहरीदेखि धरानसम्म २० किलोमिटर दूरीका लागि ३८ मिनेटको समयावधि तोकिएको छ ।
यसैगरी, काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट समय निर्धारण गरिएको छ भने झापाको केर्खादेखि मोरङको बेलबारीसम्मको ३३ किलोमिटर दूरीका लागि एक घण्टाको समय निर्धारण गरिएको छ ।
प्रहरीले ठाउँ ठाउँमा नियम पालना गरे, नगरेको जाँच गर्नेछन् । नियम पालना नगरेको पाइए कारबाही गरिने प्रहरीले जनाएको छ । यसमा यातायात व्यवसायीहरुको समेत पूर्ण सर्मथन रहेको कोशी यातायात व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठले बताउनु भयो ।
शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी ट्राफिक कोशी प्रदेशका एसपी विनोद घिमिरे र एक वस चालकले संयुत्तरुपमा कार्डमा हस्ताक्षर गरेर टाइम कार्डको लागु गरेको हो । यो लागु भएपछि आफूहरुलाई समेत सहज भएको बस चालकले प्रतिक्रिया दिएका छन् ।
कोशी प्रदेशमा गत वर्ष सवारी साधनको दुर्घटनामा परी ३ सय ९७ जनाले ज्यान गुमाएका छन् । अहिले पूर्वी नेपालमा सवारी दुर्घनमा परी ज्यान गुमाउने र अङ्गभङ्ग हुने क्रममा समेत बढेको छ । टाइम कार्डको पालना भए दुर्घटनामा केही कमी आउने विश्वास गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्