सुनसरीमा ठुलो परिमाणमा गाँजासहित चार युवक पक्राउ
सुनसरी – सुनसरीमा गाँजासहित चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको कोसी गाउँपालिका वडा नं. ७ हरिपुरमा खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको कालो त्रिपालले पछाडिको भागमा छोपिएको प्र. १–०२–००२ ख ०४१४ नम्बरको ट्रकलाई रोक्न खोज्दा चालक ट्रक छाडेर भागेका थिए ।
उक्त ट्रकको डालाको भागमा फलामको पाताले वेल्डिङ गरी बक्स आकारको फल्स बटम बनाई उक्त बटमभित्र लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा ११ वटा बोरामा ३ सय ४० किलोग्राम लागू औषध गाँजा बरामद गरिएको थियो ।
घटनामा तत्काल फरार रहेका प्रतिवादीहरूको सम्बन्धमा सूक्ष्म रूपमा अनुसन्धान गर्दा ट्रक धनी तथा चालक धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं. ४ पिप्लेडाँडा बस्ने ३० वर्षीय जयप्रकाश राईलाई पक्राउ गरिएको हो ।
उनलाई सोधपुछ गर्दा उनीबाट खुल्न आएका अन्य तीन जना मानिसहरूलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता, डिएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिनु भयो । राईसहित पक्राउ पर्नेमा भोजपुरको पौवादुम्मा ६ बस्ने २२ वर्षीय समीर राई, सुनसरीको कोसी गाउँपालिका वडा नं. ८ बस्ने २२ वर्षीय रूपेश यादव र कोसी ८ का २५ वर्षीय भक्ति भन्ने विहारी मुखिया रहेका छन् ।
पक्राउ परेका चार जनामाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको तिम्सिनाले जानकारी दिनु भयो ।
प्रतिक्रिया राख्नुहोस्