अपाङ्गता दिवसमा नृत्य तथा वक्तृत्वकला

नुवाकोट-   अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मङ्गलवार नुवाकोटमा विभिन्न जनचेतना मूलक कार्यक्रम गरी मनाइएको छ । र्‍याली, अन्तरक्रिया, अतिरिक्त क्रियाकलाप तथा अपाङ्गता जागरण सम्बन्धी कार्यक्रम गरिएको छ ।

नुवाकोटमा स्थानीय तह तथा विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम गरी ३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएका हुन् । अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणको मुद्दामा समर्थन जुटाउन, अपाङ्गताका विषयमा जनचेतना अभिवृद्धि गर्न, सबैका लागि समावेशी र पहुँचयोग्य समाज निर्माणमा सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउन नेपालमा समेत यो दिवस मनाइँदै आइएको आयोजकहरूले जनाएका छन् ।

नुवाकोटको विदुर नपा ५ देवघाटमा नुवाकोट अपाङ्ग संरक्षण सेवा संस्थाले मङ्गलवार दिवसकै अवसरमा अपाङ्गता सचेतना सम्बन्धी र्‍याली, प्रवचन, सम्मान, अतिरिक्त क्रियाकलापका साथै पुरस्कार वितरणसमेत गरेको छ । अपाङ्गता जागरण तथा अधिकार सम्बन्धी वक्तृत्वकला र नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

नृत्यमा सहिद जगत प्रकाशजंग शाह संस्कृत माविकी खुसी लामिछाने प्रथम भइन् । सोही विद्यालयका पुनम र सजिताको जोडीले दोस्रो पुरस्कार जिते ।

वक्तृत्वकलातर्फ रण भुवनेश्वरी माविकी मञ्जरी घिमिरेले प्रथम पुरस्कार जितिन् । सहिद जगत प्रकाशजंग शाह संस्कृत माविका रोशन खतिवडा दोस्रो र सोही विद्यालयकी रन्जिता नेपाल तृतीय भइन् ।

विजेता विद्यार्थीहरूलाई बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतले पुरस्कार प्रदान गरे । उनले अपाङ्गता अधिकार र जागरणको पक्षमा आफू सदैव क्रियाशील रहेको वताउनुभयो ।

अपाङ्गता भएकाहरूलाई तीनै  तहको सरकारले विशेष प्रोत्साहन गर्नु पर्ने काँग्रेस नुवाकोटका सभापतिसमेत रहेका महतको भनाई छ । उनले अपाङ्गता अधिकार र संरक्षणको पक्षमा आफूले संसद्मा विशेष विषय उठान गर्नेसमेत वताउनुभयो ।

कार्यक्रममा काँग्रेस नुवाकोटका उपसभापति राजु थापा, देवी घाट जालपा क्लबका अध्यक्ष नवीन चित्रकार, पिपलटार लामिवगैचा युवा क्लबका अध्यक्ष सुजन गजुरेल, सहिद जगत प्रकाशजंग शाह संस्कृत माविका प्रधानाध्यापक मञ्जु चित्रकार, देवी घाट ज्येष्ठ नागरिक अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाल, सामाजिक अगुवा मीनकुमार खतिवडालगायतले अपाङ्गता भएकाहरूलाई अहिले पनि हेर्ने नजर फरक रहेका कारण उनीहरूलाई समान व्यवहार जरुरी रहेको वताउनुभयो । दिवसमा अवसरमा विविध मनोरञ्जनात्मक कार्यक्रमसमेत गरिएको थियो ।

सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको थियो ।

नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको आयोजकहरूले बत्ताएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति रहेका छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति बञ्चित छन् । एक प्रतिवेदन अनुसार नेपालको कूल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति छन् ।

जनगणनाको प्रतिवदेन अनुसार कूल परिवारमध्ये तीन दशमलव एक प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५० दशमलव एक प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणको मुद्दामा समर्थन जुटाउन, अपाङ्गताका विषयमा जनचेतना अभिवृद्धि गर्न, सबैका लागि समावेशी र पहुँचयोग्य समाज निर्माणमा सरकार तथा सरोकार भएका निकायको ध्यानाकर्षण गराउन यो दिवस मनाइँदै आइएको हो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाललगायतले नेपालका विपद्सम्बन्धी कानुन र नीतिमा समावेश ‘अपाङ्गता समावेशी’ व्यवस्थालाई व्यावहारिक रूपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएका  छन् । विपद् व्यवस्थापन र मानवीय सङ्कटको अवस्थामा काम गर्ने अन्तर्राष्ट्रिय निकाय र गैरसरकारी संस्थाका कामहरूलाई अपाङ्गता समावेशी बनाउन पैरवीको आवश्यकता औँल्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.