लमजुङ अस्पतालमा जीवनजल अभाव

लमजुङ-  लमजुङ सदरमुकाम बेसीशहरस्थित जिल्ला अस्पतालमा जीवनजलको चरम अभाव भएको छ । जिल्लाको सबैभन्दा ठुलो सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् ।

सरकारले निःशुल्क वितरण गर्दै आएको जीवनजल अहिले लमजुङ अस्पतालको फार्मेसीमा किन्छु भन्दा समेत नपाएपछि विरामीहरुले सास्ती खेप्दै आएका छन् । जिल्ला अस्पतालमा जीवनजल पाइन छाडेको विगत दुई महिनाअघिदेखि बिरामीले गुनासो गरेका थिए । झाडा पखाला लागेर अस्पतालमा पुगेका बिरामीले अस्पताल भित्रै जीवनजल नपाउने अवस्था भएपछि बाहिर मेडिकलमा किन्नुपर्ने बाध्य भएका छन् । जीवनजलको लागि सरकारी स्वास्थ्य संस्थाले नजिकको औषधि पसलमा किन्न पठाउने गरेको बिरामीहरूले बताएका छन् ।
झाडापखाला लागेको बेला मृत्युबाट जोगाउने अचुक औषधिको रूपमा मानिने जीवनजल जिल्लाकै प्रमुख सरकारी अस्पतालमै अभाव हुँदा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । भाइरल ज्वरो, झाडा बान्ता र डेंगुका बिरामी अस्पतालमा आउने गरे पनि अस्पतालमा दुई महिना अघि देखिनै जीवनजलको अभाव हुँदै आएको हो ।

अस्पतालमा जीवनजल अभाव भएसँगै आपूर्तिका लागि सम्बन्धी निकायमा माग गर्दासमेत जीवनजल नपाएको अस्पतालका मेसु डाक्टर शिशिर देवकोटाले बताउनुभयो । गण्डकी प्रदेश अन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा तिन पटकसम्म जीवनजल माग भएकोमा हालसम्म उपलब्ध नभएको मेसु देवकोटाको भनाई छ ।

जीवनजल सरकारले निःशुल्क उपलब्ध गराउने औषधी भित्र पर्दछ । जीवनजल अभावका विषयमा माथिल्लो निकायलाई जानकारी गराउँदासमेत बेवास्ता भएको र गम्भीर समस्या नभएकोले अस्पताल आफैले खरिद नगरेको मेसु देवकोटाले बताउनुभयो ।
जिल्ला अस्पतालमा जीवनजल अभावका विषयमा जानकारी भएपनि यति धेरै लामो समय अभाव भएको बारे अनविज्ञ रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रकी महानिर्देशक डा रेखा पौडेलको भनाई छ । सरकारको औषधी आपूर्ति सम्बन्धी प्रक्रिया झन्झटिलो भएकोले केही समय लागेको हुनसक्ने भन्दै लमजुङमा हप्ता दिन भित्र जीवनजल उपलब्ध गराउने तयारी भएको डा पौडेलले बताउनुभयो ।

लमजुङसहित मनाङका बिरामीसमेत लमजुङ अस्पतालमा आउने गरेको भए पनि जीवनजल जस्तो आधारभूत औषधी अस्पतालमा नपाएर बाहिर किन्नुपर्दा बिरामीहरूले आक्रोश समेत व्यक्त गरेका छन् । जीवनजल अभाव भए पनि अन्य अत्यावश्यक औषधी अभावमा बिरामीहरूलाई समस्या हुन नदिएको अस्पतालको दाबी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.