सहकारीको ११ करोड बढी रकम अपचलन गरेको आरोपमा कार्यपालिका सदस्यसहित दुई जना पक्राउ

लमजुङ- किर्ते कागज गरी सहकारीको ११ करोड बढी रकम अपचलन गरेको आरोपमा लमजुङ प्रहरीले एक जना जनप्रतिनिधिसहित दुई जनालाई पक्राउ गरेको छ । मर्स्याङ्दी गाउँपालिकाको कार्यपालिका सदस्य मधुमाया बगाले सहित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको ङादीसेवा केन्द्रका वीरेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

मर्स्याङ्दी गाउँपालिकाको वडा नंं ९ बाट वडा सदस्यमा निर्वाचित बगाले सो गाउँपालिकाको कार्यपालिका सदस्य समेत हुन् । बगालेले सेवा केन्द्र प्रमुख गुरुङसँग मिलेर कृत्रिम ऋणीहरू खडा गरी सहकारीको ११ करोड २२ लाख ८१ हजार आठ सय ४४ रुपैयाँ ९४ पैसा हिनामिना गरेको अभियोग छ । यसका लागि उनीहरूले भुलभुलेमा रहेको हिमालयन बैङ्कमा रहेको सहकारीको खाताबाट किर्ते हस्ताक्षर गरी रकम निकालेको देखिएको प्रहरीले जनाएको छ ।

संस्थामा सदस्य समेत नरहेकी बगालेले सहकारीका सेवा केन्द्र प्रमुखसग मिलेमतो गरी करोडौं रकम अपचलन गरेको सुइँको पाएपछि सहकारीले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङलाई जाहेरी दिएको थियो । कार्यालयले यस सम्बन्धमा आवश्यक छानबिन गरिदिन सहकारी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गरेपछि रजिस्ट्रारको कार्यालयले विज्ञ पठाएर छानबिन गरेको थियो । छानबिनका लागि सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतम सहितको टोली खटाएको थियो ।

वित्तीय विश्लेषक गौतमको टोलीले उक्त सहकारीको ङादी सेवा केन्द्रको वित्तीय छानबिन गरी प्रतिवेदन तयार गरी प्रहरीलाई बुझाएपछि प्रहरीले सेवा केन्द्र प्रमुख गुरुङ र बगालेलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी निशान्त श्री वास्तवले जानकारी दिनुभयो ।

छानबिनका क्रममा आरोपी बगाले र सेवा केन्द्र प्रमुख गुरुङले सहकारीको ११ करोड बढी रकम हिनामिना गरेको उल्लेख भएको प्रहरी नायव उपरिक्षक निशान्त श्री वास्तवले बताउनुभयो । छानबिन प्रतिवेदनमा निजहरूले सम्बन्ध कसुर गरेको र नगदसमेत अपचलन गरेकोले उनीहरू उपर सम्पत्ति शुद्धीकरण ऐन २०६४ (संशोधन समेत) को कसुर गरेको पाइएकाले सम्पत्ति शुद्धीकरण तर्फ समेत अनुसन्धान गरी पीडित सहकारीका नाममा रकम भराउनु पर्ने राय व्यक्त गरिएको बताइएको छ ।

देशभर सहकारी ठगीमा सहकारीका सञ्चालकहरू पक्राउ परे पनि यस प्रकरणमा भने जनकल्याण बचत तथा ऋण सहकारी संस्था आफै ठगिएको छ । संस्थाकै कर्मचारीको मिलेमतोमा सहकारीको करोडौँ रुपैयाँ अपचलन भएको अनुसन्धानमा देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले बगाले र गुरुङलाई सोमबार पक्राउ गरी अदालत उपस्थित गराएको छ । जिल्ला अदालत लमजुङले आरोपीमध्ये बगालेलाई ६ दिन र गुरुङलाई ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.