मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजिकरणका लागि छलफल

काठमाडौँ – छिमेकी राष्ट्र भारतको भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र समकक्षी वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलबीच द्विपक्षीय हितका विषयमा आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित संसद् भवनमा भएको भेटका क्रममा मन्त्री भण्डारीले समकक्षी गोयलसँग सिमेन्ट, प्लाइउड, जुत्तालगायत नेपाली वस्तु निर्यातमा भारत सरकारले लगाउँदै आएको ‘ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड’को सहजीकरणको लागि आग्रह गर्नुभयो ।

नेपालको पारवहन तथा व्यापार सहजीकरणको विषयमा पनि सो भेटवार्तामा छलफल भएको र छिट्टै पारवहन सम्धी संशोधनका लागि सकारात्मक छलफल भएको भ्रमण टोलीमा रहनुभएका मन्त्रालयको द्विपक्षीय व्यापार तथा पारवहन शाखाका उपसचिव तर्कराज भट्टले जानकारी दिनुभयो ।

यस्तै व्यापार तथा पारवहनको सहजीकरणको लागि वाणिज्य सचिव स्तरको बैठक छिट्टै नेपालमा आयोजना गर्ने सहमति भएको छ ।

त्यस अवसरमा मन्त्री भण्डारीले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनेकाले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्ने सम्बन्धमा पहलकदमीका लागि मन्त्री गोयलसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.