प्रधानमन्त्री ओलिद्वारा चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन
काठमाडौँ- चीनको भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलिले चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन गर्नु भएको छ ।
नेपाल चीन ब्यवसायिक सम्मेलनलाई सम्बोधन पछि प्रधानमन्त्री ओलीले आज चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन गर्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बेइजिङमा आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानी वातावरण बन्दै गएको र धेरै क्षेत्र अझै पनि पर्याप्त लगानी भइनसकेकाले लगानीका लागि आग्रह गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा उहाँले भन्नुभयो, “नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका छन् । थप नीतिगत र व्यावहारिक सुधार गरी लगानी विस्तार र व्यापार सहजीकरणका लागि तयार छौँ ।”
द्विपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताउनुभयो । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउनुहुँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सहकार्यलाई सरकारले प्राथमिकता दिएको र सोहीअनुसार व्यावसायिक वातावरण बनाउँदै लगिएको बताउनुभयो । उहाँले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैँ तत्पर रहेको बताउनुभयो ।
चीन नेपालमा धेरै लगानी गर्ने मुलुकमध्ये एक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । नेपालका कृषिजन्य उत्पादनको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उहाँले बताउनुभयो ।
सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताउनुभयो । साथै नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउनुहुँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारबहन सहजीकरण गरिने उल्लेख गर्नुभयो । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने उहाँको भनाइ छ ।
सम्मेलनमा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो एक नेपालले व्यावसायिक वातावरण बनाउन गरेको पहलबारे जानकारी गराउनुभयो । सरकारले लगानी सहजीकरणसम्बन्धी आठ वटा कानुन एकसाथ संशोधन गरेको र द्विपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको उहाँको भनाइ छ ।
यसैगरी, पहिलोपटक नेपालको क्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारत पछि सबैभन्दा राम्रो आएको जानकारी पनि ढकालले गराउनुभयो । यसले लगानीकर्ताहरु ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उहाँले भनाइ छ ।
साथै उहाँले सीमा क्षेत्रको पूर्वाधार लगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
महासङ्घ अध्यक्ष ढकालले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउनुभयो । पछिल्लो समय पर्यटन पूर्वाधारहरु जस्तै केबलकार, थिम पार्क, रिसोर्टलगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उहाँले बताउनुभयो । नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउनुहुँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्