अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउँछौँ – अर्थमन्त्री पौडेल

रुपन्देही- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले व्यवसायीहरुलाई लगानीको वातावरण बनाउने बताउनु भएको छ । मन्त्री पौडेलले कानून संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने बताउनु भएको हो ।
सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवामा शुरु भएको महोत्सवको उद्घाटन गर्दै मन्त्री पौडेलले मुलुकको आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै गएको दावी गर्नुभयो । उहाँले व्यपारी र उद्योगीहरुलाई निराश नहुन आग्रह पनि गर्नुभयो ।
मन्त्री पौडेलले निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर रहेको छ भन्नुभयो ।
पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थल राष्ट्रकै गौरव भएकोले यसको सञ्चालनमा शंका नगर्न आग्रह गर्नुभयो । मन्त्री पौडेलले भैरहवालाई अझै पूर्वाधारयुक्त विकसित शहर बनाउन सरकारले लगानी गर्दै जाने जनाउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले यो मुलुक पर्यटनकै लागि बनेको बताउनुभयो । पाण्डेयले तेस्रो मुलुकका लागि मात्रै पर्यटक भन्ने तर भारतीयलाई नभन्ने बानी रहेको जनाउँदै अब त्यसलाई सुधार गर्न आवश्यक रहेको बताउनु भयो ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले अहिलेको अवस्था उद्योगी–व्यवसायी मैत्री नभएको भन्दै सरकारले निराशालाई आशामा बदल्न नसकेको बताउनु भयो । अहिले उद्योग–व्यवसाय धमाधम बन्द भइरहेको भन्दै यसलाई उकास्न जरुरी रहेको उहाँको भनाइ थियो।
संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा निराशालाई आशामा बदल्ने प्रयास गरिएको जनाउनु भयो । सबै उत्पादनको एकैथलोमा प्रदर्शन हुने भएकाले सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने अध्यक्ष श्रेष्ठको भनाइ थियो । उहाँले मेलामा आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिक्न सक्ने उल्लेख गर्नुभयो ।
३ सय स्टल रहेको महोत्सवमा मुस्ताङको अर्गानिक स्याउदेखि दैलेखको घरेलु उत्पादनसम्म प्रदर्शनीमा राखिएको संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताउनु भयो । उहाँले नेपालका ४० जिल्लाका उत्पादन महोत्सवमा प्रदर्शनी हुँने बताउनु भयो ।
आजदेखि भैरहवामा नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अंचलपुरमा सुरु भएको हो । स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने पर्यटन क्षेत्रको प्रचारप्रसारमा मद्दत गर्ने उद्देश्यसहित संघले महोत्सव आयोजना गरेको हो ।
‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवले निजी क्षेत्रको मनोबल बृद्धि गर्ने अपेक्षा गरिएको छ ।
महोत्सव उद्घाटन अघि करिब ३ सय संघसंस्थाका प्रतिनिधिको सहभागितामा भैरहवाको देवकोटाचोकदेखि बाजागाजासहित विभिन्न जातजातिको सांस्कृतिका झाँकीसहित र्याली निकालिएको थियो । महोत्सव पुस १ गतेसम्म संचालन हुनेछ ।
करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सव २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।।





प्रतिक्रिया राख्नुहोस्