आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता राख्न प्रस्तावित राजदूतहरूलाई परिसंघको आग्रह

काठमाडौँ – नेपाल उद्योग परिसंघले प्रस्तावित राजदूतहरूसँग आर्थिक विषय केन्द्रित छलफल गरेको छ । सोमबार साँझ आयोजित छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गर्नुभयो ।
आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्दै नेपालमा रहेको लगानीका क्षेत्रका विषयमा सम्बन्धित देशका लगानीकर्ताहरूलाई नेपालसँग जोड्न राजदूतहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष अग्रवालले लगानी तथा निर्यात प्रवर्द्धन गर्न देश केन्द्रित विशिष्ट आर्थिक रणनीति बनाउनुपर्ने, विदेशी लगानीकर्ता तथा स्वदेशी लगानीकर्ताका लागि सबै नेपाली राजदूतावासमा ‘फोकल कनट्याक्ट पर्सन’ राख्नुपर्नेमा जोड दिनुभयो । कुनै पनि मुलुकसँगको सम्बन्ध राजनीतिक भन्दा आर्थिक सम्बन्ध स्थिर एवं बलियो रहेको विश्वको उदाहरण प्रस्तुत गर्दै उहाँले व्यवसायका माध्यमबाट देशको ब्राण्डिङ गर्न सकिने बताउनुभयो ।
नेपालको ‘कन्ट्री रेटिङ’ भइसकेको र राम्रो रेटिङ पाएकाले नेपालमा आवश्यक क्षेत्रमा लगानी भित्र्याउन सहयोगी बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सन् २०२६ मा नेपाल विकसित मुलुकमा स्तरोन्नति हुने भएकाले देशले पाउँदै आएको सुविधा नघट्ने तथा नेपालको हित हेरेर सौविद्य व्यापार सम्झौता (पीटीए) गर्नुपर्ने बताउनुभयो ।
परिसंघले उच्च व्यापार घाटा कम गर्न नेपाली वस्तुहरूको प्रवर्द्धन, पर्यटन, सूचना प्रविधि, उद्योग, जलविद्युत, पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्नेमा पनि जोड दिएको छ ।
सो अवसरमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृत बहादुर राईले देशको प्रतिनिधिको रूपमा राजदूतहरूले नेपाली वस्तुहरूको प्रवर्द्धन, नेपाली व्यवसायीहरूलाई आवश्यक सहजीकरण गर्ने बताउनुभयो । उहाँले नेपाली व्यावसायिक क्षेत्रलाई सम्बन्धित मुलुकका लगानीकर्तासँग सम्पर्क स्थापना गर्न, नेपाली वस्तु तथा सेवा निर्यातमा आवश्यक सहरीकरणमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
नेपाली राजदूतहरू डा. शङ्कर शर्मा, सेवा लम्साल, चित्र लेखा यादव, चन्द्रकुमार घिमिरे, डा. सुन्नीमा तुलाधर, डा. जङ्गबहादुर चौहान, प्रा. कपिलमान श्रेष्ठ, प्रकाशमणि पौडेल, डा. शिवमाया तुम्बाहाम्फे, डा. पूर्ण बहादुर नेपाली, डा. नेत्र प्रसाद तिम्सिनालेले नेपाल र नेपालीको हितमा देशको प्रतिनिधिको रूपमा काम गर्ने बताउनुभयो । उहाँहरूले आर्थिक कूटनीतिलाई हरेक राजदूतहरूले केन्द्रमा राख्नुपर्ने भन्दै आर्थिक विकासका लागि नेपाली निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा, वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, उपाध्यक्षहरू हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, परिसंघ गभर्निङ काउन्सिल सदस्यहरू शशिकान्त अग्रवाल, बालकृष्ण श्रेष्ठ, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी हुनुहुन्थ्यो ।






प्रतिक्रिया राख्नुहोस्