काठमाण्डौंमा प्रथम भारत नेपाल टुरिजम मार्ट सम्पन्न

काठमाण्डौं-  नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा भारतीय राजदूतावास, काठमाडौंको आयोजनामा मंगलवार काठमाण्डौंमा पहिलो भारत–नेपाल पर्यटन मार्ट सम्पन्न भएको छ ।

सो अवसरमा भारतको उत्तर प्रदेशको प्रयागराजमा २०२५ मा आयोजना हुने महाकुम्भ २०२५ को प्रवर्द्धन र नेपाल भारत सर्किट पर्यटनको कार्यान्वयनलाई बढावा दिन बीटुबी सेसनहरु आयोजना गरिएको थियो ।

कार्यक्रममा भारतका १३ प्रतिनिधि र नेपालका १२० जना टुर अपरेटरहरूको सहभागिता थियो । बिटुबी तथा समापन समारोहमा विशेष गरी स्थल मार्गबाट सीमा पार पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो । दुवै पक्षका टुर अपरेटरहरूले रामायण र बुद्ध सर्किटको सन्दर्भमा दुवै पक्षका आगन्तुकहरूको लागि सम्भावित यात्रा योजनाहरूबारे छलफल गरेका थिए ।

मार्ट समापनको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले सीमा पार पर्यटन तथा स्थल मार्गबाट नेपाल आउने पर्यटकहरूमा भारतीय पर्यटकको ठुलो योगदान रहेको बताउनु भयो । उहाँले यस प्रकारका कार्यक्रमले दुवै देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उल्लेख गर्दै कार्यक्रमको निरन्तरताको लागि आग्रह गर्नु भयो ।

सो अवसरमा भारतीय दूतावासका कार्यवहाक राजदूत प्रसन्न श्री वास्तवले भारतीय दूतावासले नेपाल र भारतका छिमेकी राज्यहरूमा रहेका धार्मिक तथा सांस्कृतिक परिथपहरूको भौतिक तथा डिजिटल कनेक्टिभिटीमा जोड दिएको बताउनु भयो । उहाँले यसबाट भारत र नेपाल बिचको पर्यटन प्रवर्द्धन हुने अपेक्षा गर्नु भयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूको सबैभन्दा ठुलो स्रोत भारत भएको उल्लेख गर्दै पर्यटन बोर्डले समेत नेपाल–भारत पर्यटन प्रवर्द्धनका लागि विभिन्न पहलहरू तथा प्याकेजहरू तयार गर्ने गरेको बताउनु भयो ।

कार्यक्रममा उत्तर प्रदेश सरकारका पर्यटन अधिकारी सुश्री कीर्तिले महाकुम्भ २०२५ का बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमका अवसरमा इन्डियन काउन्सिल अफ कल्चरल रिलेसन (आईसीसीआर) का कलाकारले भारतीय नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी भारतीय क्रेताहरूलाई नेपाल पर्यटन बोर्डले जनकपुर र काठमाडौँका विभिन्न स्थानको भ्रमण गराएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.